
बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको अन्तर बैंक कारोबार दर ८ प्रतिशत भन्दा तल झरेको छ । बैंक÷वित्तीय संस्थामा निक्षेप थपिन थालेसँगै तरलताको अवस्थामा आएको सहजताले अन्तर बैंक दर घटेको हो । तरलता अभाव भएको अवस्थामा अन्तर बैंक कारोबारमा रकम दिने भन्दा
पनि सापट माग्ने नै धेरै भएपछि स्थायी तरलता सुविधा दर बराबर नै अन्तर बैंक दर पुगेको थियो । एसएलएफ रेट अर्थात ८.५ प्रतिशतसम्म पनि अन्तर बैंक सापट नपाएपछि बैंक वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकले उपलब्ध गराउने स्थायी तरलता सुविधा (एसएलएफ) प्रयोग गर्छन । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले प्रयोग गर्ने एसएलएफ पनि घटेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत शुक्रबार बैंक वित्तीय संस्थाले ३४ करोड रुपैयाँ बरावरको मात्र एसएलएफ सुविधा प्रयोग गरेका छन् । अन्तर बैंक दर ८ देखि ७.३८ प्रतिशत सम्म झरेको छ भने एसएलएफ पनि घट्दो क्रममा रहेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन पछि बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम बढेको छ । मंसिर महिनाको २२ गतेसम्ममा वाणिज्य बैंकहरुमा मात्रै ३० अर्ब रुपैयाँ निक्षेप थपिएको छ । निर्वाचनामा भएको खर्चले बैंक वित्तीय संस्थाको निक्षेप बढेको हो । तर, कर्जा भने घटेको अवस्था छ ।
मंसिर महिनाको १३ गते पछि मात्र बैंक वित्तीय संस्थामा २१ अर्ब निक्षेप थपिएको छ । यो अवधिमा बैंक वित्तीय संस्थाको कर्जा भने एक अर्बले घटेको छ । केन्द्रीय बैंकका अनुसार गत १३ गते बैंक वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब ९३ अर्ब रुपैयाँ रहेकोमा मंसिर २२ गतेसम्ममा ५२ खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ । त्यसैगरी मंसिर १३ गते ४७ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंक वित्तीय संस्थाको मंसिर २२ गतेको कुल कर्जा ४७ खर्ब ६० अर्बमा झरेको हो।




