
बैंकिङ खबर/मन्त्रिपरिषद् बैठकमा मौद्रिक नीति र बैंकहरूले तोकेको ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या पारेको भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव गरिएको छ ।
मंगलबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले अहिलेको मौद्रिक नीति र ब्याजदरले अर्थतन्त्रमा गम्भीर समस्या आउने भन्दै सरकारले हस्तक्षेप गर्नुपर्ने प्रस्ताव राख्नुभएको हो ।
सरकारले यस विषयमा निकास ननिकाले उद्योग, व्यवसाय र अर्थतन्त्रमा गम्भीर प्रभाव पर्ने धारणा सहभागी मन्त्रीहरुले बताउनुभएको थियो ।
मौद्रिक नीति र बैंकको ब्याजदरका कारण उद्योग एवं व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेको गुनासो उद्योगी व्यवसायीहरुले राख्दै आएका छन् । उनीहरुले गलत मौद्रिक नीतिका कारण आफूहरूले व्यवसायबाट हात धुनुपर्ने अवस्थामा पुगेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
तीन मन्त्रीको धारणापछि प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गर्ने र उद्योग व्यवसायलाई सुरक्षा प्रदान गर्ने दायित्व सरकारको भएको बताउनुभएको थियो । अहिलेको मौद्रिक नीति र चर्को ब्याजदरका कारण मुलुकको अर्थतन्त्र र राजस्वमा गम्भीर प्रभाव पार्नेबारे आफू जानकार रहेको र सबै पक्षसँग संवाद गरी समस्याको समाधान निकाल्ने प्रधानमन्त्री देउवाले बैठकमा बताउनुभएको थियो ।