
बैंकिङ खबर । हाल विश्व डिजिटल अर्थतन्त्र निर्माणको चरणमा छ, यसको असर नेपालमा पनि आउँदै छ त्यसैले पछिल्लो समय नेपालमा समेत विद्युतिय कारोबारमा सबैको चासो बढ्दै गइरहेको छ । साना फलफुल तरकारी पसलदेखि ठुला ठुला कर्पोरेट क्षेत्रमा डिजिटलाइजेसनले स्थान पाइसकेको छ ।
आज सबैजसो साना ठुला व्यापारी पनि यसको कारोबारमा आकर्षित भइसकेका छन् भने ग्राहकहरुपनि विस्तारै यसमा प्रवेश गदै छन् । विगत चार महिनाको मात्र तथ्याङ्क हेर्ने हो भने पनि विद्युतिय भुक्तनी कारोबारमा राम्रो सुधार देख्न सकिन्छ ।
असोजसम्ममा मात्रै क्यूआर कोड (क्विक रेस्पोन्स)मा आधारित भुक्तानी वार्षिक २१४.८ प्रतिशतले बढेको छ। पोहोर असोजमा कारोबार संख्या १५ लाख १५ हजार थियो। हाल ४७ लाख ७० हजार पुगेको राष्ट्र बैंकले बताएको छ। क्यूआर कोडको प्रयोगबाट १७ अर्ब ३३ करोड ७० लाख रुपैयाँ कारोबार भएको छ। पोहोर ६ अर्ब ९ करोड ७० लाख रुपैयाँ कारोबार भएको थियो।
डिजिटल कारोबार हुने अन्य माध्यम वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, पोइन्ट अफ सेल्स, क्रेडिट कार्ड, डेबिट कार्ड, प्रिपेड कार्डलगायतबाट हुने कारोबारसमेत बढेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार एकै वर्षको अन्तरालमा मोबाइल बैंकिङमार्फत कारोबार रकम र प्रयोगकर्ताको संख्या ५१.९ प्रतिशतले बढेको छ। असोजसम्मसम्ममा २ करोड ९ लाख ९३ हजार ग्राहकले मोबाइल बैंकिङ कारोबार गर्न आवेदन दर्ता गरेका छन्।
उक्त ग्राहकबाट १ खर्ब ६२ अर्ब १३ करोड रुपैयाँबराबरको कारोबार मोबाइल बैंकिङमार्फत भएको छ। कारोबार रकममा पनि ८४.८१ प्रतिशतले वृद्धि भएको छ। कनेक्ट आईपीएसमार्फत ४० लाख १३ हजार ३ सय पटक कारोबार हँदा ३ खर्ब ७ अर्ब २७ करोड रुपैयाँ कारोबार भएको छ। यो कारोबार रकम गत वर्षको भन्दा २८.४९ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा ३५ लाख १० हजार पटकमा २ खर्ब ३९ अर्ब १४ करोड ८० लाख रुपैयाँको कारोबार भएको थियो। यसैगरी, वालेटमार्फत १५.७६ प्रतिशतले कारोबारको संख्या बढेर १ कोड ५७ लाख ३० हजार हाराहारीमा पुगेको छ।
उक्त संख्यामा १६ अर्ब ५६ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ। यसैगरी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्डमार्फत हुने कारोबार पनि उल्लेख्य बढेको छ। तर डिजिटल उपकरणबाट कारोबार बढेसँगै चेकमार्फत हुने भुक्तानी भने घटेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार इलेक्ट्रोनिक चेक (ईसीसी) मार्फत हुने कारोबार संख्या मात्रै १९ प्रतिशतले घटेको छ।
गत वर्षको असोजमा ११ लाख ६७ हजार ५ सय ५४ को संख्यामा भएको कारोबार संख्या घटेर ९ लाख ४५ हजार ६ सय ८६ मा सीमित भएको छ। संख्या घटेसँगै कुल कारोबार रकम पनि ३९.७९ प्रतिशतले घटेको छ। गत वर्षको असोजमा ८ खर्ब ३२ अर्ब ८९ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएकोमा घटेर ५ खर्ब १ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ। कोरोना महामारीपछि डिजिटल कारोबार फस्टाउँदै गएको छ। अझ विद्युतीय कारोबार गर्ने छनोट धेरै पनि भएको छ। जसले गर्दा विस्तारै कागजी चेकमार्फत हुने कारोबारमा पनि कमी आएको देखिन्छ।




