बैंकिङ खबर/ पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर प्रतिनिधिसभा उम्मेदवार भएका अर्थशास्त्री डा.विश्वनाथ पौडेललाई पराजित गर्दै चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी हुनुभएको छ ।
ढकाल शेयर लगानी कर्ता हुनुहुन्छ । ढकालले ३४ हजार १८९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा एमालेका सुरेन्द्र पाण्डेले २६ हजार ६०८ मत ल्याएको चितवन १ का निर्वाचन अधिकृत रेशमराज सिग्देलले जानकारी दिनुभयो । सो क्षेत्रमा सत्तारूढ गठबन्धनले उम्मेदवार बनाएको नेपाली काँग्रेसका विश्वनाथ पौडेलले २४ हजार ९९० मत प्राप्त गर्नुभयो । ३८ वर्षीय युवक हरि ढकालले एमालेका केन्द्रीय उपाध्यक्षसमेत रहेका पाण्डे र अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेललाई भारी मतान्तरले पराजित गर्नुभएको छ ।
को हुन् ढकाल ?
पूर्वी चितवनको रत्ननगर–१५ पिठुवाका ढकालको पृष्ठभूमि एमाले हो । २०४० सालमा जन्मिनुभएका उहाँ विद्यालय र शहीद स्मृति क्याम्पसमा पढ्दा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आवद्ध हुनुहुन्थ्यो । उहाँ अनेरास्ववियु चितवनको सचिव समेत बन्नुभयो ।
टाँडीमा कपडा पसल चलाएका उहाँ त्यहाँ असफल भएपछि काठमाडौं गएर सेयर बजारमा लगानी गर्नुभयो । ठमेलमा क्याफे सञ्चालन गर्नुभयो, गार्मेन्ट व्यवसायमा पनि आकर्षित हुनुभयो । धेरैजसो काठमाडौं बस्ने ढकाल पेप्सीकोलामा बस्नुहुन्छ ।
झण्डै १५ वर्ष जति सेयर कारोबारीका रूपमा सक्रिय हुनुभयो । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सेयर बजारका बारेमा लिएको नीति चित्त नबुझेका कारणले उहाँले एमाले छाडेको बताउँदै आउनुभएको छ । सेयर कारोबारी ढकाल लगानीकर्ता दबाब समूहका अध्यक्ष समेत हुनुभएको थियो ।
गत स्थानीय तहको निर्वाचनमा ढकाल काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई जिताउने अभियानमा सक्रिय भएर लागे । त्यसपछि उनी आफू पनि राजनीतिमा आउने तयारीमा लागे । सुरुमा स्वतन्त्र उम्मेदवार भएर बालेनको चुनाव चिन्ह लौरो लिएर उठ्ने तयारीका साथ चितवन आएका ढकालको सम्पर्क राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भयो ।
उपयुक्त पात्रको खोजीमा रहेका लामिछानेले ढकाललाई उम्मेदवार बनाए । ढकालले मूलधार र अझै गठबन्धन समेत गरेर आएका दलहरुलाई पन्छाएर जित निकाले । दुई ठूला अर्थशास्त्रीहरुको मनमा घण्टी बजाउँदै ढकालले जित निकाल्न सफल भए । सुरेन्द्र पाण्डे र डा. विश्व पौडेलले गरेको पूर्वी चितवनको विकासमा ढकालले के कस्तो थप योगदान गर्न सक्छन् त्यो भविष्यले नै देखाउने छ ।