प्रभु इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव स्वीकृत गर्नका लागि कम्पनीले आगामी कात्तिक १२ गतेका लागि साधारण सभा बोलाएको छ । साधारणसभामा कम्पनीले वोनस सेयर वितरणपछि कायम हुने पुँजीको ५० प्रतिशत हकप्रद सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।
साधारणसभा तथा बोनस प्रयोजनका लागि कात्तिक २ गते मंगलबारदेखि १२ गतेसम्म शेयरधनी पुस्तिका बन्द हुने कम्पनीले जनाएको छ । जसअनुसार, कम्पनीले प्रस्ताव गरेको बोनस सुरक्षित गर्नका लागि लगानीकर्ताले कात्तिक १ गते सोमबारसम्ममा कम्पनीको शेयर खरिद गरिसक्नुपर्नेछ ।
अहिले ३२ करोड ९० लाख ७३ हजार रुपैंया चुक्ता पूँजी रहेको कम्पनीको १७ प्रतिशत बोनस बितरण पश्चात पूँजी ३८ करोड ५० लाख १५ हजार रुपैंया पुग्नेछ । उक्त चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५७ करोड ७५ लाख २५ हजार रुपैंया पुग्नेछ ।



