Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक खाता खोल्नेको संख्या उल्लेख्य वृद्धि

२०७९ मंसिर ५ गते

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ असोज मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा गरी कुल १८ लाख २१ हजार ७८७ कर्जा खाता रहेको देखिन्छ । गत वर्षको सोही अवधिमा यस्तो संख्या १७ लाख ६४ हजार ४५८ रहेको थियो ।
त्यसैगरी २०७९ असोज मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या ४ करोड ६८ लाख ५५ हजार ६४३ पुगेको छ। २०७८ असोज मसान्तमा यस्तो संख्या ३ करोड ९४ लाख १३ हजार ५५५ रहेको थियो ।

गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने नीति अवलम्बन गर्न थालिएपछि बैंक तथा वित्तीय संस्थाहरुको संख्या पनि घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाको संख्या १३२ रहेकोमा चालुु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा घटेर १२५ मा झरेको छ। यो अवधिमा वाणिज्य बैंकको संख्या २६, विकास बैंक र फाइनान्स कम्पनीको संख्या १७ र लघुवित्त संस्थाको संख्या ६४ मा झरेको छ। गत वर्षको सोही अवधिमा वाणिज्य बैंक २७, विकासबैंक १८, फाइनान्स कम्पनी १७ र लघुवित्त संस्थाको संख्या ६९ थियो ।

त्यसैगरी पछिल्ला वर्षहरुमा बैंक तथा वित्तीय संस्थाका शाखा विस्तार तीव्रगतिमा भइरहेका छन्। पछिल्लो १ वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न क्षेत्रमा ५०७ वटा शाखा खोल्न सफल भएका छन्। गत असोजमा बैंक तथा वित्तीय संस्थाहरुको कुुल शाखा संख्या ११ हजार ३९ रहेकोमा यो असोजमा बढेर ११ हजार ६०९ पुुगेको छ। जसमा वाणिज्य बैंकका ५ हजार ७५, विकास बैंकका १ हजार १२१, फाइनान्स कम्पनीका २७४ र लघुवित्त वित्तीय संस्थाका ५ हजार १४० शाखा विस्तार भएका छन्।

पछिल्लो १ वर्षमा बैंक तथा वित्तीय संस्थाहरुको शाखा विस्तारसँगै एक बैंक शाखाबाट सेवा प्राप्त गर्नसक्ने औसत जनसंख्याको आकार पनि क्रमशः घट्दै गएको देखिन्छ। २०७८ असोज मसान्तमा कुल जनसंख्या र बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्याको अनुपात २ हजार ७५२ रहेकोमा २०७९ असोज मसान्तसम्म घटेर २ हजार ५१५ मा झरेको छ।

सबै स्थानीय तहमा वाणिज्य वैंकहरुको कम्तीमा एउटा शाखा पुर्याउने नीतिअनुरुप हालसम्म ७५२ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भएको छ। २०७९ असार मसान्तसम्ममा ७५३ स्थानीय तहमध्ये ७५२ स्थानीय तहमा वाणिज्य बैंकका शाखा विस्तार भएका हुन्।  अब सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको छ।

पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाहरुका एटीएम संख्या उल्लेख्य वृद्धि हुँदै २०७९ असोज मसान्तमा ४ हजार ६६४ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ४ हजार ३४७ थियो।

राष्ट्र बैंकका अनुुसार गत असोजमा डेबिट कार्ड प्रयोगकर्ताको संख्या ९३ लाख ६९ हजार ६७८ रहेकोमा यो असोजमा वृद्धि भएर १ करोड १५ लाख ५७ हजार १७४ पुुगेको छ।

त्यसैगरी क्रेडिट कार्डको प्रयोगमा समेत तीव्रता आएको केन्द्रीय बैंकले जनाएको छ। २०७८ असोज मसान्तमा २ लाख ४ हजार ९५६ क्रेडिट कार्डका प्रयोगकर्ता रहेकोमा १ वर्षमा बढोत्तरी भएर २ लाख ६२ हजार ९४५ पुुगेको छ।

यस्तै मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २०७८ असोजमा १ करोड ५१ लाख ५३ हजार ४६३ रहेकोमा २०७९ असोजसम्म बढेर १ करोड ९१ लाख २ हजार ६५२ पुुगेको छ। यस अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्यासमेत बढेर १७ लाख १९ हजार ७३३ पुगेको छ। त्यसैगरी शाखारहित बैंकिङ केन्द्रको संख्या पनि बढ्दै गएको छ।