Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आगामी साता मौद्रिक नीतिको समीक्षा गर्ने राष्ट्र बैंकको तयारी

२०७९ मंसिर ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक यतिबेला चालू आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षाको तयारीमा जुटेको छ । संघ र प्रदेश तहको संसदीय निर्वाचनका कारण ढिलाइ भएकाले आगामी साता सार्वजनिक गर्ने गरी मौद्रिक नीति समीक्षाको तयारी राष्ट्र बैंकले गरेको हो । मौद्रिक नीति समीक्षामार्फत केही नीतिगत व्यवस्थासमेत फेरबदल गर्ने विषयमा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

पहिलो त्रैमासिक आर्थिक परिदृश्यले सकारात्मक सूचक देखिएपछि केही कठोर नीतिगत व्यवस्थामाथि परिवर्तन हुन सक्ने जनाइएको छ । बाह्य क्षेत्रको दबाबका कारण कठोर हुनुपर्ने अवस्था थियो । अब बिस्तारै खुकुलो बनाउँदै लैजाने विषयमा छलफल भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
केही महिनायता बैंकहरूले कर्जाको ब्याजदर बढाएको भन्दै निजी क्षेत्रहरु आन्दोलित भएका छन् ।

उनीहरूले निर्वाचनसम्म कुनै विरोध नगर्ने भन्दै बीचमा आन्दोलनसमेत फिर्ता लिएका थिए । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधनको प्रयास गर्ने आश्वासन दिएको भन्दै पूर्वका उद्योगीहरूले विरोध कार्यक्रम स्थगित गरिरहेका छन् ।  रेमिट्यान्समा वृद्धि र आयातमा आइरहेको कमीले शोधनान्तर स्थिति बचतमा गएपछि बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढ्दै जाने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकको पहिलो त्रैमासिक तथ्यांकअनुसार गत आर्थिक वर्षको प्रथम तीन महिनाको तुलनामा आयात १६.२ प्रतिशतले घटेको छ । त्यस्तै, रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा ७.९ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ८७ अर्ब ७१ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १२ अर्ब ४३ करोडले बचतमा पुगिसकेको छ ।