
बैंकिङ खबर/लगातार घाटामा रहेको देशको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा भने सकारात्मक देखिएको छ । गत आवको शुरुदेखि नै चालु आवको दोस्रो महिनासम्म पनि नकारात्मक रहेको शोधनान्तर स्थिति चालु आवको तेस्रो महिनामा १२ अर्ब ४३ करोडले बचतमा गएको छ । शोधनान्तर स्थिति भनेको नेपालमा भित्रिने र नेपालबाट बाहिरिने रकमको वास्तविक तथ्यांक हो । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आउँदा रेमिट्यान्स रकम केही बढी आएको एवम् सरकारले विगत केही महिनादेखि सवारीसाधन, मदिरा, मोबाइललगायतका केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्धका कारण नेपालको शोधनान्तर स्थिति सकारात्मक देखिएको हो । साधारणतया दशैं तिहारजस्ता ठूला चाडपर्वको अवसरमा देशमा सामान्य भन्दा १०–१५ प्रतिशत बढी रेमिट्यान्स भित्रिने गर्दछ भने पछिल्लो समय नेपाली मुद्रासँग डलरको अधिमूल्यन भइरहेकाले पनि रेमिटेयान्स पठाउनेहरु बढी भन्दा बढी आकर्षित भएको हो ।
चालु आवको श्रावणमा २२ अर्ब ६३ करोड र भदौंमा २३ अर्ब ६८ करोड रुपैयाँ शोधनान्तर घाटा नकारात्मक रहेको थियो । असोज महिनासम्म भने अघिल्लो वर्षको असोज महिनासम्मको तुलनामा १६.८ प्रतिशतले रेमिट्यान्स वृद्धि भइ २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको कारण शोधनान्तर घाटा नकारात्मक हुनबाट जोगिएको छ ।
चार वस्तुको आयात प्रतिबन्ध कायमै रहेको बेला असोज महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा रेमिट्यान्स रकममा वृद्धि एवम् आयातमा समेत १६.२ प्रतिशतले संकुचन आउँदा यसको सकारात्मक असर विदेशी मुद्रा सञ्चितिमा समेत परेको छ । चालु आवको साउन महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति ९ अर्ब ३५ करोड रहेकोमा असोजमा बढेर १३ अर्बले बढेर ९ अर्ब ४८ करोड डलर पुगेको छ ।
आयातको १६.२ प्रतिशत प्रतिशत घट्दै जानु एवम् निर्यात समेत ३५.७ प्रतिशतले घट्दै जाँदा देशको समग्र व्यापार घाटा अघिल्लो आवको सोही महिनाको तुलनामा १३.१ प्रतिशतले खुम्चेर ३ खर्ब ५९ अर्ब १८ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलर हरेक दिन बलियो हुँदै जाँदा चालु आवको पहिलो महिनामा रेमिट्यान्स पनि बढेको देखिएको छ । देशमा साउनमा ९२ अर्ब २१ करोड, भदौंमा ९४ अर्ब २१ करोड र असोजमा पनि ९४ अर्ब १ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । असोज महिनाको रेमिट्यान्सको वृद्धिदर अघिल्लो वर्षको सोही महिनाको भन्दा १६.८ प्रतिशतले बढी हो ।
असोज महिनासम्म नेपाल भित्रिएका पर्यटकहरुबाट ११ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरे पनि नेपालीहरु विदेश भ्रमण एवम् अध्ययनको लागि भनेर २६ अर्ब ४ करोड खर्च गर्ने गरेका छन् । नेपालको खुद सेवा आय २१ अर्ब ७० करोडले घाटामा रहेको छ ।
असोजमा आयात व्यापारमा कमी आएर खुद व्यापार घाटामा कमी आउनु एवम् रेमिट्यान्स आप्रवाहमा समेत केही सुधार देखिदा देशको शोधनान्तर स्थिति नाफामा गएको छ । आयातमा व्यापक नियन्त्रण गर्दा शोधनान्तर स्थिति थोरै नाफामा देखिनु एवम् वैदेशिक मुद्रा सञ्चिति केही बढ्नुले देशको अर्थतन्त्र खराब अवस्थाबाट विस्तारै सुधारोन्मुख रहेको जनाउ दिन्छ । देशले अहिलेको तरलता संकटको समयमा विदेशबाट धेरै भन्दा धेरै लगानी भित्रयाउनु पर्नेमा चालु आवको एक त्रैमासिकमा जम्मा ८ करोड रुपैयाँ मात्रै वैदेशिक लगानी भित्र्याएको छ ।
कठोर नीति लिएपछि अर्थतन्त्रमा सुधार आयो : गभर्नर अधिकारी
यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको कठोर नीतिका कारण नै अर्थतन्त्रमा सुधार आइरहेको दाबी गर्नुभएको छ । बुधबार नेपाल बैंक लिमिटेडको ८६औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र खस्किरहेको बेलामा सरकार र राष्ट्र बैंकले लिएका कठोर निर्णयबाट नै अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभयो ।
अप्रिय लाग्ने तर अर्थतन्त्र सुधारका लागि अत्यावश्यक पोलिसिगत निर्णय नगरेको भए अर्थतन्त्रमा सुधारको संकेत नदेखिनेसमेत उहाँले बताउनुभयो । उहाँले विगतमा गरिएको पोलिसीगत निर्णयहरु अर्थतन्त्रलाई सुधार गर्न र स्थायित्व दिनका गरिएको स्पष्ट पार्नुभएको छ । गभर्नर अधिकारीले राष्ट्र बैंकले लिएको पोलिसीले सकारात्मक रुपमा काम गरेको अहिलेको सुधारोन्मुख अर्थतन्त्रले पुष्टि गरेको बताउनुभयो । उहाँले लामो समयदेखि बाह्य क्षेत्रमा धेरै पीडादायी स्थितीमा रहेको भए पनि चालू आर्थिक वर्षको तीन महिनाको तथ्यले वर्तमान आर्थिक स्थिति सन्तोषजनक देखाएको बताउनुभयो ।
असोज मसान्तसम्म आइपुग्दा भुक्तानी सन्तुलन १४ महिनापछि सकारात्मक बनेको उहाँको भनाइ थियो । गभर्नर अधिकारीले असोज मसान्तसम्म भुक्तानी सन्तुलन १२ अर्बले बढेको बताउनुभयो । उहाँले अर्थतन्त्रलाई अहिलेको अवस्थामा ल्याउन आयात प्रतिवन्ध लगाउने लगायत धेरै नीति लिनुपरेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०७९/८० को असोजसम्ममा आयत र निर्यात दुवै घटेको बताउनुभयाे ।




