साताको अन्तिम दिन नेपाल स्टक एक्सचेन्जमा एक अर्बमाथिको कारोबार भयो । दिनभरिमा एक सय ३० वटा कम्पनीको १५ लाख ५६ हजार २७ कित्ता सेयर पाँच हजार १३ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब दुई करोड ७५ लाख २८ हजार छ सय ९२ रुपैयाँ पुँजी परिचालन भयो । त्यस्तै, नेप्से परिसूचक दिनभरिमा १३.२८ अंकले बढेर बजार १८१९.८८ अंकमा पुग्यो ।
यो साताको सुरुको दिनदेखि नै सेयर बजार दोहोरो अंकले बढिरहेको छ । गत साताको अन्तिम दिन जम्मा ४.२८ अंकको वृद्धिसँगै १७५३.३८ अंकमा आईपुगेको नेप्से परिसूचक यो सातको अन्तिम दिन १८१९.८८ अंकमा आईपुगेको छ । यस आधारबाट हेर्दा, यो साता नेप्से परिसूचक ६६.५० अंकले बढेको छ ।
कारोबार रकम पनि यो साता सुधारको गतिमा रह्यो । गत साता अघिल्लो साताको तुलनामा गिरावट आई चार अर्ब ४५ करोडमाथिको कारोबार भएको बजारमा यो साता चार अर्ब ७४ करोड ८६ लाख ८८ हजार ट सय ४८ रुपैयाँ पुँजी परिचालन भएको छ ।
साताभरमा बैंक अफ काठमाण्डू लुम्बिनी लगानीकर्ताको आकर्षणको केन्द्र बन्यो । शिखर इन्स्योरेन्स, एभरेष्ट बैंक, एनबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको राम्रो कारोबार भयो । यो साता सेयर किन्नेभन्दा पनि बेच्नेहरुको संख्या बढी देखियो ।
बैंक अफ काठमाण्डू लिमिटेड र लुम्बिनी बैंक गाभिएर हालसालै नयाँ संस्थाको रुपमा सेयर कारोबार सुरु भएको बैंक अफ काठमाण्डू लुम्बिनीका लगानीकर्ताले यो साता धेरै कमाए । यसबाहेक, ज्योति विकास बैंक, कुमारी बैंक लगायतका लगानीकर्ताले पनि यो साता राम्रो कमाइ गरेका छन् । सानिमा माई हाइड्रोपावर, सिन्धु विकास बैंक, निर्धन उत्थान विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्था लगायतका लगानीकर्ताले पनि यो साता सम्पत्ति घटाएका छन् ।



