Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

खुम्चियो बैंकहरुको कर्जा विस्तार

२०७९ कार्तिक २८ गते


बैंकिङ खबर/ बैंकहरुको कर्जा विस्तार खुम्चिदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को पहिलो चार महिनामा बैंकहरुको कर्जा ४४ अर्ब रुपैयाँमा सीमित भएको थियो । जुन गत आर्थिक वर्षको यस्तै पहिलो चार महिनामा बैंकहरुको कूल कर्जा विस्तार ३ खर्ब ८१ अर्ब रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब २ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा ७६ अर्ब मात्रै कर्जा विस्तार गर्न सकेका छन् । गत २४ कात्तिकको नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्न हो भने बैंक तथा वित्तीय संस्थाको कूल कर्जा लगानी ४७ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ ।

करिब १० महिना अगाडि २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाको कूल कर्जा लगानी ४६ खर्ब ८१ अर्ब रहेको थियो । सोही अवधिमा बैंकहरुको निक्षेप संकलन भने २ खर्ब ५९ अर्बले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा आक्रामक कर्जा विस्तार गरेका बैंकहरुले पुसदेखि भने बैंकिङ प्रणालीमा लगानीयोग्य तरलताको अभाव भएपछि कर्जा विस्तार रोक्नुपर्यो ।

गत आर्थिक वर्षकोे सुरुको ६ महिनामा ४ खर्ब ६६ अर्बले कर्जा विस्तार भएको थियो । २०७८ असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेको कूल कर्जा पुस मसान्तमा ४६ खर्ब ८१ अर्ब पुगेको थियो । सोही अवधिमा निक्षेप भने १ खर्ब ६५ अर्बले मात्रै बढेको थियो । २०७८ असार मसान्तमा ४७ खर्ब ४० अर्ब रहेको निक्षेप पुस मसान्तमा ४९ खर्ब ५ अर्ब पुग्यो ।

गत आर्थिक वर्षको सुरुमा भएको उच्च कर्जा विस्तारका बीच निक्षेप बढ्न नसक्दा बैंकहरुले पुसपछि भने माग हुँदा पनि कर्जा थप बढाउन सकेनन् । पुस मसान्तमै ४६ खर्ब ८१ अर्ब पुगेको कुल कर्जा लगानी बढ्दो ब्याजदरकै बीच २०७९ असार मसान्तमा आउँदा ३३ अर्बले मात्रै विस्तार भएर ४७ खर्ब १४ अर्ब पुगेको थियो ।

अर्कोतर्फ नेपाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्न कर्जा दर नै नियन्त्रण गर्ने नीति लियो । एक आर्थिक वर्षमा नै ९ खर्बले कर्जा विस्तार गरेको बैंकहरुले पछिल्लो १० महिनामा कर्जाको मागै नभएर कर्जा लगानी रोकेका भने होइनन् । लगानीयोग्य स्रोतको अभावले गर्दा कर्जाको माग भएर पनि कर्जा बैंकहरुले कर्जा दिन नसकेका हुन् ।