Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

फेरि अर्को सहकारीका अध्यक्ष र प्रबन्धक करोडौं ठगेर फरार !

२०७९ कार्तिक १९ गते

बैंकिङ खबर/ पछिल्लो समय एकपछि अर्काे सहकारीहरुमा समस्या देखिन थालेको छ । अझ ठूला भनिएका सहकारीहरु बढी समस्यामा परेका छन् । ग्रामीण तथा दुर्गम भेगसम्म वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी भन्ने नाराका साथ स्थापना गरिएका सहकारीहरु आज सर्वसाधारणको विश्वास गुमाउँदै गएका छन् । देशका ठूला भनिएका सहकारीहरुनै समस्याग्रस्त अवस्थामा पुगेका छन् ।

अध्यक्ष र प्रबन्धक करोडौं ठगेर फरार

बर्दियाको गुलरियामा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र प्रबन्धक बचतकर्ताको करोडौं रुपैयाँ ठगेर फरार भएका छन् ।

सोमबारदेखि सहकारीका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक सञ्जिवकुमार महतो सदस्यको करोडौं रुपैयाँ रकम लिएर सम्पर्कविहीन भएका हुन् । रिजाल र महतो सोमबारदेखि सम्पर्क विहीन भएको र संस्था पनि बन्द भएको भन्दै केही पीडितहरुले जिल्ला प्रशासन कार्यालय बर्दियामा उजुरी दिएका छन् ।

कार्यालयमा उजुरी परेपछि अनुसन्धान गर्दा सहकारीका अध्यक्ष तथा प्रबन्धक सम्पर्कमा नरहेको पाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्रबहादुर शाहीले सहकारी पीडितले जिल्ला प्रशासनमा सहकारीविरुद्ध निवेदन दर्ता गरेको बताए ।

पीडितले प्रशासनमा निवेदन दर्ता गरेपछि लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयका प्रतिनिधि र जिल्लास्थित सहकारी विभागका अधिकारीले स्थलगत अनुसन्धान गरिरहेका छन् ।

लुम्बिनी प्रदेशको सहकारी विभागका निमित्त रजिष्ट्रार केशव घिमिरेले पनि सहकारीका अध्यक्ष र प्रबन्धकले बचतकर्ताको रकम लिएर सम्पर्कमा नरहेको पुष्टि गरे ।

घिमिरेले सोमबारदेखि सहकारीका अध्यक्ष र प्रबन्धक सम्पर्क विहीन रहेको बताए । विभागले गरेको स्थलगत अनुसन्धानका क्रममा सहकारीमा समस्या देखिएको उनको भनाइ छ । सहकारीले घर तथा जग्गामा बढी लगानी गर्दा, अध्यक्ष आफैंले सहकारीबाट पैसा निकालेर चलाउँदा, सहकारीले विभिन्न क्षेत्रमा गरेको लगानी उठ्न नसकेको देखिएको छ । त्यसको प्रत्यक्ष मारमा बचतकर्ता परेका छन् ।

समस्याग्रस्त केहि ठूला सहकारीहरु

नाम चलेकै ठूला सहकारीहरु यतिबेला समस्याग्रस्त अवस्थामा छन् भने केहि सहकारीका सञ्चालकहरु रकम हिनामिना गरेको आरोपमा पक्राउ पर्ने र जेठ समेत भोग्न बाध्य भएका छन् ।

देशकै ठूलो ठगी काण्डका रुपमा लिइएको ओरियन्टल कोअपरेटिभ लिमिटेडमा सञ्चालक सुधीर बस्नेत पक्राउ परे । उनीमाथि सहकारीको निक्षेप ठगीको आरोप लागेको थियो । बस्नेत १३ पुस २०७३ मा पक्राउ परेका थिए ।

सहकारीको निक्षेप ठगी अभियोगमा काठमाडौं र भक्तपुर जिल्ला अदालतले बस्नेतलाई जेल सजाय सुनाएको थियो । ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले २ वर्ष कैद र ५ करोड ९१ लाख ९७ हजार जरिवाना तथा ठगीकै अर्को मुद्दामा ६ महिना कैद र ४ लाख ९४ हजार जरिवानाको फैसला सुनाएको थियो । भक्तपुरले पनि २ वर्ष कैद र ८४ हजार ६ सय ४८ रुपैयाँ जरिवाना असुल हुने फैसला सुनाएको थियो ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ यतिबेला थुनामा छन्। संगठित ठगीको आरोपमा पक्राउ परेका तामाङलाई जिल्ला अदालत काठमाडौंले थुनामा पठाउन आदेश दिएको थियो । यता तामाङकी श्रीमती सिर्जना शाक्य तामाङलाई प्रहरीले पक्राउ गरेको छ। ठगी सम्बन्धी कसूरमा फरार रहेकी तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौंबाट पक्राउ गरेको हो । शाक्य संस्थामा लेखा समिति सदस्य थिइन् ।

सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको रकम नतिरेपछि इच्छाराजविरुद्ध पीडितले सीआईबीमा उजुरी दिएका थिए। पीडितको उजुरीका आधारमा सुरुमा सीआईबीले इच्छाराजसहित १२ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । उनीहरूसँग पाँच अर्ब ६३ करोड बिगो माग गरी मुद्दा दायर गरिएको थियो ।

यस्तै हालैमात्र काठमाडौंस्थित गौतमश्री बहुउदेशीय सहकारी पनि विवादमा मुछिएको छ । सहकारीका सञ्चालक बचकर्ताको रकम फिर्ता नगरी सम्पर्क विहीन भएपछि बचतकर्ताहरुले सहकारी विभागमा उजुरी दिएका छन् । सहकारीमा एभरेस्ट बैंकले सूचना टाँस गरेको थियो । यि त केहि उदाहरण मात्रै हुन् तर सहकारीको रकम हिनामिना गरेर सञ्चालक नै फरार रहेका धेरै घटनाहरु छन् ।

गुमाउँदै जनविश्वास

सर्वसाधारण जनताले दैनिक आधारभूत खर्चबाट कटाएर सहकारीमा बचत गर्ने गर्दछन् । भविष्यमा आफ्नै काम आउँछ भन्ने सोचेर सहकारी संस्थालाई विश्वास गरी रकम बचत गरेका हुन्छन् । त्यही रकम लिएर सहकारीका संचालक फरार भएका धेरै उदाहरणहरु छन् । जसका कारण सहकारी संस्थाहरुप्रतिको जनविश्वास झन्–झन् दिनप्रतिदिन घट्न थालेको छ । एकातिर सरकार जनतालाई बचत गर्ने बानीको विकास गराउन जुटेको छ, भने अर्कातिर बचत गर्न भनि स्थापना गरिएका संस्थाहरु नै जनताको विश्वाससँग खेलिरहेका छन्, जसको प्रभावकारी नियमन गर्न सरकार चुकेको छ ।

नियमन, कारबाही लगायतका व्यवस्थाको प्रभावकारी कार्यान्वयन नहुँदा निक्षेप लिएर भाग्ने, बचतको दुरुपयोग गर्ने, आफ्नो व्यक्तिगत फाइदाका ठाउँमा लगानी गर्ने जस्ता क्रियाकलाप पनि सहकारी संचालकद्वारा हुने गरेको छ । यसरी दुरुपयोग भएको रकमको क्षतिपूर्ति सर्वसाधारणले पाउने ग्यारेन्टी पनि सरकारले गर्न सक्दैन । केही फरार व्यक्तिहरु समातिन्छन् भने केही कारबाहीको दायरामा नै आइपुग्दैनन् ।

सहकारीबाट निक्षेप झिक्ने क्रम बढ्यो

घरजग्गामा लगानी गरेर एकपछि अर्को संकटमा पर्न थालेपछि पछिल्लो समय सहकारी संस्थाबाट निक्षेप झिक्ने क्रम बढ्न थालेको छ।

अहिले काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बचतकर्ताहरु सहकारी संस्थामा आफूले जम्मा गरेको रकम झिक्न धाउन थालेका छन्। ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढेका हुन्। आआफ्नो बचत हतार हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारीहरु दबाबमा परेको देखिएका छन्।

सहकारी विभागमा अहिलेसम्म १२ वटा सहकारीले बचतकर्ताको रकम तिर्न नसकेर फरार भएका छन्। सहकारी विभागले यस्ता सहकारीलाई समस्याग्रस्त घोषणा गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। गत आर्थिक वर्षमा ३ सय सहकारीविरुद्ध विभिन्न उजुरी विभागमा परेको थियो। डुबेका अधिकांश सहकारीहरु लगानी घरजग्गा र सेयर बजारमा गएको विभागले जनाएको छ। सहकारी विभागको तथ्यांक अनुसार देशभर करिब ३० हजार सहकारी संस्था दर्ता छन्।

एकपछि अर्को सहकारी टाट पल्टिएपछि विभागको निर्देशन

एकपछि अर्को सहकारी टाट पल्टन थालेपछि सहकारी विभागले घरजग्गामा जथाभावी लगानी नगर्न निर्देशन दिएको छ।
विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स(साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरुमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न कडा निर्देशन जारी गरेको छ।

सहकारी संस्थाहरुलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले भनेको छ। विभागले बचतकर्ता सदस्यहरुसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो, भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न समेत समेत गराएको छ।

बचतकर्ताहरुलाई संस्थाको वस्तुगत स्थिति जानकारी गराउन समेत विभागले निर्देशन दिएको छ। संचालन घाटामा रहेका संस्थाहरुले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्नेदेखि संचालकको सुविधा कटौती गर्न निर्देशन जारी गरेको छ।

प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरु पनि बन्द गर्न विभागले निर्देशन जारी गरेको छ।

केही समययता काठमाडौं उपत्यकासहित धेरै जिल्लामा बचतकर्ताहरु सहकारी संस्थामा आफूले जम्मा गरेको रकम धमाधम झिक्न थालेपछि विभागले निर्देशन जारी गरेको हो।

ओरियन्टल, सिभिल, गुडविल, प्रज्ञान, देउरालीसहित गौतमश्री सहकारीले बचतकर्ताको रकम हिनामिना भएपछि सहकारीमाथि अविश्वास गर्दै निक्षेप झिक्न चाहने बढ्दै गएका छन्। बचत हतार(हतार झिक्न आउनेको भीड बढ्न थालेपछि सहकारीहरु दबाबमा परिरहेका छन्।

छिटो छिटो बढी नाफा कमाउने लोभमा परेर सहकारी संस्थाहरुले घरजग्गा र सेयरमा जथाभावी लगानी गर्दा संस्था नै टाट पल्टिँदै गएका छन्। बचतकर्ता र सेयर सदस्यहरुको पैसा लिएर सञ्चालकहरु नै फरार हुने क्रम बढेपछि विभागले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशन जारी गरेको छ।

सहकारी क्षेत्र प्रति नै अविश्वास बढ्दै गएको आन्तरिक मूल्यांकन गर्दै विभागले सहकारी संस्था, सहकारीका सेयर सदस्य र केन्द्रिय संघरसहकारी बैंकहरुलाई एकीकृत निर्देशन जारी गरेको छ। विभागले सेयर सदस्य प्राप्त भएपछि बचत राख्ने र तीन महिनापछि मात्रै ऋण लिन आग्रह गरेको छ।