Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

तरलता अभावः ट्रेजरी बिलको ब्याजदर फेरि १२% माथि

२०७९ कार्तिक १७ गते

बैंकिङ खबर/ ट्रेजरी बिलको ब्याजदर (डिस्काउन्ट रेट) पुुनः बढ्न थालेको छ । बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता)को अभाव हुँदै जाँदा ट्रेजरीको ब्याजदर पनि पुुनः बढ्न थालेको हो । नेपाल राष्ट्र बैंकका अनुुसार कात्तिक ५ गतेदेखि १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाबाट ६ अर्ब रुपैयाँ निक्षेप घटेको छ ।

नेपाल बैंकर्स एसोसिएन (एनबीए) को तथ्यांकमा कात्तिक ५ गतेदेखि कात्तिक ११ गतेसम्मको वाणिज्य बैंकहरुको निक्षेप १७ अर्ब रुपैयाँले घटेको छ । कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब २४ अर्ब रुपैयाँमा झरेको एनबीएको तथ्यांकमा उल्लेख छ । बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप घटेकै बेला जारी भएको ट्रेजरीमा डिस्काउन्ट रेट झन्डै १३ प्रतिशत नै माग गरिएको पाइएको छ । पछिल्लोपटक जारी भएको १६ अर्ब ६६ करोड रुपैयाँकोे ट्रेजरीमा उक्त ब्याजदरको अफर गरिएको हो ।

केन्द्रीय बैंकले मंगलबार ९१ दिनका लागि ५ अर्ब १० करोड रुपैयाँ, १८२ दिनका लागि १० अर्ब रुपैयाँ र ३६४ दिनका लागि १ अर्ब ५६ करोड रुपैयाँबराबरको ट्रेजरी बिल जारी गरेको थियो। आन्तरिक ऋण उठाउन प्रयोग गरिएको उक्त अल्पकालीन सरकारी ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाहरुले अधिकतम १२.७०४४ प्रतिशतसम्म डिस्काउन्ट रेटको अफर गरेका हुन्।

९१ दिने ५ अर्ब १० करोड रुपैयाँको ट्रेजर खरिदका लागि १९ बैंक वित्तीय संस्थाले ४ वटा आवेदनमार्फत १० अर्ब १ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए । जसमा न्यूनतम ९.०४११ प्रतिशत र अधिकतम ११.४३८ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो । उक्त ट्रेजरीको औसत डिस्काउन्ट रेट ११.१९६० प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै १८२ दिने ट्रेजरका लागि १८ बैंक तथा वित्तीय संस्थाले १०२ वटा आवेदनमार्फत ११ अर्ब १४ करोड रुपैयाँको बोलकबोल पेस गरेका थिए । राष्ट्र बैंकका अनुुसार यो अवधिको ट्रेजरीमा न्यूनतम १०.३००१ प्रतिशत र अधिकतम १२.७०४४ प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो । यसमा औसत डिस्काउन्ट रेट भने ११.६४२५ प्रतिशत कायम भएको छ ।

केन्द्रीय बैंकले ३६४ दिने ट्रेजरीका लागि १६ बैंक तथा वित्तीय संस्थाबाट ५९ वटा आवेदनमार्फत ७ अर्ब १९ करोड रुपैयाँको बोलकबोल पेस भएको जनाएको छ । यसमा न्यूनतम १०.५०९४ प्रतिशत र अधिकतम ११.४३०० प्रतिशत डिस्काउन्ट अफर गरिएको थियो। औसत डिस्काउन्ट रेट १०.९७५७ प्रतिशत कायम भएको छ ।

यी तीनै प्रकारका ट्रेजरीमा राष्ट्र हस्तक्षेप गरेको छैन । बैंक तथा वित्तीय संस्थाहरुले नै बिक्री गरिएको राष्ट्र बैंकले जनाएको छ। यसअघि ट्रेजरीको ब्याजदर दोहोरो अंकमा पुुग्दा पटक–पटक हस्तक्षेप गर्दै आएको राष्ट्र बैंकले यसपटक १२ प्रतिशतमाथि पुुग्दा पनि बोलकबोलमा सहभागी भएकाहरुलाई नै नवीकरण गर्न दिएको छ । जसका कारण पनि ट्रेजरी बिलका ब्याजदर अझै बढ्न सक्ने संकेत देखिएको छ ।

ट्रेजरी बिल के हो ? यसको निष्काशन किन गरिन्छ ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिकाट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।  सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ ।

एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन । 

ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा ड जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नु पर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ । 

ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बोलकबोलको परिणामको जानकारी पनि मंगलबार नै दिने गरिन्छ । ट्रेजरी बिल बोलकबोलको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org.np) का साथै अनलाइन बिडीङ प्रणाली (http:\\ obss.nrb.org.np/pd) मार्फत प्रकाशित गरिन्छ । बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलकोबाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ । बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र (Advice) उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ । 

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ ।