Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
निर्वाचन बिशेष

एमालेको घोषणापत्रः वित्तीय क्षेत्रमा संकटको संकेत

२०७९ कार्तिक १५ गते

बैंकिङ खबर/ वर्तमान सरकार आर्थिक तथा वित्तीय अपराधलाई प्रोत्साहन गर्न लागिपरेको नेकपा एमालेले आरोप लगाएको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनको घोषणापत्र सार्वजनिक गर्दै एमालेले सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने कार्यमा लागेको आरोप लगाएको हो ।

‘देशमा अहिले एक किसिमको समानान्तर अर्थव्यवस्था हावी भएको छ । तस्करी, राजस्व छली, हुन्डी लगायत क्रिप्टो मुद्रा, हाइपर फन्ड र डिजिटल सम्पत्तिका क्षेत्रमा अवैध लगानी भइरहेको छ,’ एमालेको घोषणापत्रमा भनिएको छ, ‘सरकार स्वयं अपारदर्शी र अवैध कारोबारीलाई प्रोत्साहन दिने र त्यस्तो हर्कत गर्नेलाई नियन्त्रण गर्ने नियामक निकायलाई उल्टै हतोत्साहित गर्ने काम गरिरहेको छ ।’

वर्तमान सरकारकै कारण देश सम्पत्ति शुद्धीकरणको चपेटोमा पर्ने अवस्था आएको एमालेले आरोप लगाएको छ । ‘अवैध सम्पत्तिलाई वैध बनाउने सरकारकै कतिपय नीति तथा निर्णयका कारण देश सम्पत्ति शुद्धीकरणको चपेटोमा पर्ने डर छ’ घोषणापत्रमा भनिएको छ ।

सेयर र घरजग्गाको उच्च मूल्यले बैंकिङ प्रणालीबाट बाहिरिएको रकम बैंकमा नआउँदा वित्तीय क्षेत्रमा सङ्कटको संकेत देखिन थालेका एमालेले बताएको छ । कर्जाको रुपमा प्रणालीबाट बाहिरिएको रकम बैंकमा निक्षेपको रुपमा फिर्ता नआउने, घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको रकम प्रणालीमा आउन नसकेको एमालेको आरोप छ ।

‘बैंकबाट कर्जाका रूपमा बाहिर गएको रकम निक्षेपका रूपमा बैंकमा अहिले फर्कंदैन । घर जग्गा र सेयर बजारको उच्च मूल्यसँगै बैंकिङ प्रणालीबाट बाहिर गएको रकम बैंकमा फर्कन सकेको छैन,’ घोषणापत्रमा भनिएको छ, ‘निजी स्वार्थ र लाभका लागि मुलुकलाई अन्धकारतिर धकेली दलाल पूँजीपति, बिचौलिया, कालोबजारी तथा गठबन्धनका मतियार र आसेपासेलाई पोस्ने काम जारी छ ।’