बुधबार नेपाल स्टक एक्सचेन्जमा ९२ करोड रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय ३२ वटा कम्पनीको १० लाख १८ हजार दुई सय ४५ कित्ता सेयर चार हजार तीन सय तीन पटक खरिदविक्रि हुँदा कुल ९२ करोड ८४ लाख आठ हजार सात सय पाँच रुपैयाँ पुँजी परिचालन भएको हो । कारोबार रकम मंगलबारको तुलनामा घटेको हो । मंगलबार एक अर्ब ११ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
नेप्से परिसूचक ८.१० अंकले बढेर १८०६.६० अंकमा पुगेको छ । बजार हरियो भएपनि वृद्धिदर भने मंगलबारको तुलनामा घटेको हो । मंगलबार नेप्से १८.१ अंकले बढेको थियो । साताको सुरुवातदेखि नै दोहोरो अंकको वृद्धि कायम रहेको बजारमा बुधबार जलविद्युत्, बीमा र उत्पादनमूलक समूहको दोहोरो अंकको गिरावटका कारण थोरै अंकको वृद्धिमा सिमित भएको छ । सबैभन्दा धेरै उत्पादनमूलक समूह २५.८७ अंकले घट्दा जलविद्युत् २३.८ अंकले घटेको छ भने बीमा समूह १८.७१ अंकले घटेको छ । होटल समूह सबैभन्दा धेरै ५८.९८ अंकले बढ्दा बैंकिङ, विकास बैंक, फाइनान्स र अन्य क्रमशः १३.४६, ४.८३, ४.६१ र २.६अंकले बढेका छन् ।
कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको बैंक अफ काठमाण्डू लुम्बिनीको २९ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने एभरेष्ट बैंकको १० करोड ३९ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्को छ करोड, प्रभु इन्स्योरेन्सको चार करोड ६४ लाख र एनबी बैंको तीन करोड रुपैयाँभन्दा बढीको कारोबार हुँदा लुम्बिनी जेनेरल लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्सको दुई करोडमाथिको कारोबार भएको छ भने चिलिमे हाइड्रो, नेको इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतको एक करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।
कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले बुधबार १० प्रतिशतका दरले सम्पत्ति बढाउँदा सेवा विकास बैंक, कुमारी बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले क्रमशः ९.९७, ९.९२ र ९.९० प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, मिरमिरे माइक्रोफाइनान्स, बैंक अफ काठमाण्डू लुम्बिनी, नमस्ते वित्तीय संस्था, आईएलएफसीओ माइक्रोफाइनान्स लगायतले पनि कमाएका छन् ।
सानिमा माई हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै पौने आठ प्रतिशतका दरले आफ्नो सम्पत्ति घटाएका छन् । रिलायन्स लोटस फाइनान्स, सिन्धु विकास बैंक, सांग्रीला डेभलपमेन्ट बैंक, कैलाश विकास बैंक, युनाइटेड इन्स्योरेन्स, त्रिवेणी विकास बैंक, युनिलिभर नेपाल लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।



