Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कात्तिकदेखि ऋणको ब्याजदर थप बढ्ने

२०७९ आश्विन २६ गते

बैंकिङ खबर/ आउँदो कात्तिकदेखि बैंक तथा वित्तीय संस्थाले कर्जा (नयाँ पुराना दुवै) को ब्याजदर बढाउने भएका छन् । गत साउनदेखि पुरानो ऋणको ब्याजदर नबढाएका बैंक तथा वित्तीय संस्थाले आधार दर (बेस रेट) मा भएको वृद्धिअनुसार कात्तिकदेखि लागू हुने गरी बढाउने भएका हुन्  । गत असारको तुलनामा असोज मसान्तसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको छ ।
सोही अनुपातमा कात्तिकदेखि लागू हुने गरी बैंकहरूले कर्जाको ब्याजदर बढाउने भएका हुन् ।

निक्षेपको ब्याजदर बढेसँगै बैंक तथा वित्तीय संस्थाले हरेक महिना नयाँ कर्जाको ब्याजदर भने बढाइरहेका छन् । तर पुराना ऋणको ब्याजदर बढेको छैन । आधार दरमा आएको परिवर्तनअनुसार बैंक तथा वित्तीय संस्थाले तीन-तीन महिनामा मात्र कर्जाको दर परिमार्जन गर्न पाउँछन् ।

राष्ट्र बैंकको सोही निर्देशनअनुसार गत असार मसान्तदेखि (साउनदेखि लागू हुने गरी) बैंक तथा वित्तीय संस्थाले कर्जाको दर बढाएका थिए । त्यसयता पनि निक्षेपको ब्याजदर बढेको र केही साधारण बचत मुद्दती निक्षेपमा परिणत भएकाले बैंकहरूको ब्याज लागत बढेको छ । त्यसले आधार दर पनि बढाएको छ ।

ती सबै लागत समेटेर बैंक तथा वित्तीय संस्थाले असोज मसान्तमा तीन महिनाको औसत आधार दर गणना गर्नेछन् । यसरी अघिल्लो त्रैमासको तुलनामा असोज मसान्तमा आधार दरमा आएको परिवर्तन (वृद्धि÷कमी) अनुसार सबै प्रकारका कर्जाको ब्याजदर परिवर्तन हुने बैंकरहरूले जनाएका छन् ।

राष्ट्र बैंकको निर्देशनअनुसार हरेक त्रैमासमा आधार दरमा आएको परिवर्तन हेरेर कर्जाको ब्याजदर परिमार्जन गर्न पाइन्छ । बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले यही व्यवस्थाअनुसार पहिलो त्रैमासमा आधार दरमा भएको वृद्धि हेरेर बैंकहरूले कर्जाको ब्याजदर बढाउने बताउनुभयो ।

गत असारमा वाणिज्य बैंकहरूको आधार दर औसत ९.४५ प्रतिशत थियो । यस्तो दर बढेर साउनमा औसत ९.७३ र भदौमा १०.०१ प्रतिशत पुगेको छ । गत साउन र भदौको आधार दरमा असोजको पनि समावेश गरेर तीन महिनाको औसत दर निकालिन्छ ।

गत असार मसान्तको तुलनामा असोजसम्म बैंकहरूको आधार दर औसत ०.६० प्रतिशत बिन्दुले बढ्ने देखिएको बैंकरहरूले जनाएका छन् । यसका आधारमा कम्तीमा ०.६० प्रतिशत बिन्दुले कर्जाको ब्याज बढ्ने उनीहरूको अनुमान छ । यो सबै वाणिज्य बैंकको औसत दर हो । तर बैंकपिच्छे बढ्ने दर भने ०.६० प्रतिशत बिन्दुभन्दा कम–बेसी हुन सक्नेछ ।