गभर्नर डा. चिरंजीबि नेपाल अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) तथा विश्व बैंकको संयुक्त आयोजनामा हुने वार्षिक मिटिङमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । गभर्नर डा. नेपाल मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् । कार्यक्रम संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डिसीमा असोज २१ देखि २३ सम्म हुँदैछ । उक्त कार्यक्रममा भाग लिन गभर्नर डा. नेपालका साथ गभर्नरको कार्यालयका निर्देशक राजेन्द्र पण्डित समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उक्त कार्यक्रममा १८८ सदस्य राष्ट्रका अर्थ मन्त्रालय, केन्द्रीय बैंक, प्राज्ञिक क्षेत्र तथा निजी क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने छ । कार्यक्रममा सदस्य राष्ट्रका प्रतिनिधिहरुले विश्व अर्थ व्यवस्था, अन्तर्राष्ट्रिय विकास तथा क्षेत्रीय सहकार्य लगायतका आर्थिक विषयहरुमा छलफल गर्नेछन् ।
आ–आफ्नो संस्थाहरुका नीति तथा कार्यक्रमका बारेमा छलफल गर्न आईएमएफ बोर्ड अफ गभर्नर्स र वल्र्ड बैंक बोर्ड अफ गभर्नर्स बर्षमा एक पटक बैठक गर्ने गर्ने गर्दछन् ।
गभर्नर डा. नेपाल वार्षिक मिटङका साथै उक्त मिटिङको साइडलाइनमा आयोजना हुने ३३ औं सार्क फाइनान्स ग्रुप मिटिङमा समेत सहभागी हुनेछन् । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका सदस्य मुलुकहरुका गभर्नर र अर्थ सचिव सदस्य रहने सार्क फाइनान्सको बैठकमा सदस्य मुलुकहरुको आपसी हितका बारेमा छलफल हुनेछ ।
अमेरिकामा रहँदा गभर्नर डा. नेपालले विभिन्न सामूहिक छलफलका साथै अन्तराष्ट्रिय मुद्रा कोषका डेपुटी मेनेजिङ डाइरेक्टर लगायत कोषका विभिन्न विभागका अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ताहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको छ । कार्यक्रममा सहभागी भई गभर्नर डा. नेपाल असोज २४ गतेका दिन नेपाल फर्कने कार्यक्रम रहेको छ ।



