बैंकिङ खबर/ ब्याजदर बढेसँगै अहिले व्यवसायीहरु अन्यौलमा परेका छन् भने ब्याजदर घटाउन माग गर्दैै आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले कर्जाको ब्याजदर आकासिएको भन्दै कोभिड–१९ महामारी, त्यसपछि वाह्य र वित्तीय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी–व्यवसायी मर्माहत भएको जनाएको छ । बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको भन्दै महासंघले उत्पादित सामानको मूल्य अकासिएर आम सर्वसाधारणको जीविका पनि कष्टकर बनेको बताएको छ ।
८% भन्दा माथि पुगिसकेको मुद्रास्फीति दरलाई बैंक वित्तीय संस्थाको यस निर्णयले थप माथि लैजाने समेत बताइएको छ । अर्थतन्त्र सुंकचित हुँदै जाँदा सरकारको राजस्व संकलन समेत करिब २०% ले न्यून हुन गएको महासंघले जनाएको छ । संकटको बेलामा जोखिम बाँडेर अर्थतन्त्रका सबै क्षेत्रले एक अर्कालाई सहयोग गर्नुपर्ने अहिलेको अवस्था भएका महासंघको भनाइ छ ।
पछिल्लो निर्णयले ब्याजदरमा अस्थिरता हुँदा सञ्चालनमा रहेको व्यवसाय जोखिममा पर्ने र नयाँ लगानी निरूत्साहित हुने महासंघले जनाएको छ । अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग व्यवसाय क्षेत्रमा ऋणको ब्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने महासंघको आँकलन छ । अर्थतन्त्रमा नकारात्मक असर मात्र पर्ने ब्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न महासंघले आग्रह गर्दै आएको छ ।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ व्यवसायिक कारोबार होलसेल बजारमा ८० प्रतिशत र खुद्रामा ६० प्रतिशतले खस्किएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘व्यापारी, उपभोक्ता कसैसँग पनि पैसा छैन, यही बेला बैंकको ब्याजदरले पनि उद्योगी व्यवसायीलाई हैरान पारेको छ । यसको जिम्मेवार राष्ट्र बैंक र यसले अख्तियार गरेको असफल नीति हो ।’ महासंघकै अर्का उपाध्यक्ष दिनेश श्रेष्ठ सरकार र राष्ट्र बैंकलाई उद्योग र व्यवसायको चावी बुझाउनुपर्ने अवस्था टाढा नरहेको बताउनुहुन्छ ।
तरलता संकटलाई देखाएर पहिल्यै लिएको ऋणमा समेत अधिक ब्याज बैंकहरुले लिएको भन्दै उहाँ आर्थिक संकटमा झनै मलजल गरेको र बैंकहरुले उपभोक्ता संरक्षण ऐन अन्तर्गत कारबाही गर्नुपर्ने बताउनुहुन्छ । यसरी ब्याजदर वृद्धिकै कारण अहिले ब्यावसायीमा अन्यौलता छाएको छ सहजै ऋण नपाउने र पाएपनि चर्को ब्याज तिर्न बाध्य भएका छन् ।
ब्याजदरको सन्त्रास
ब्याजदर वृद्धिले घरजग्गा, गाडी खरिदमा सन्त्रास छाएको छ । अब ब्याजदर के होला ? भनेर घरजग्गा, गाडी खरिदमा के गर्ने भनेर धुरुमुराएको अवस्था छ ।चालु आर्थिक वर्ष २०७९/८० लागेसँगै घरजग्गाको कारोबारमा थप मन्दी आएको छ । भू–उपयोगको नीतिअनुसार वर्गीकरण भएका जग्गा मात्रै किनबेच र कित्ताकाट हुने नीति, बैंकिङ क्षेत्रमा तरलताको अभाव, ब्याजदर वृद्धि लगायतका कारण घर जग्गाको कारोबार क्रमिक रुपमा घटेको देखिन्छ ।
यता ब्याजदर वृद्धिकै कारण गाडी खरिदमा पनि केहि गिरावट आएको अवस्था छ । अधिकांशले बैंकबाट ऋण लिएर किस्तावन्दिमा घरजग्गा कारोबारका साथै गाडी खरिद गर्ने गर्दछन् । बैंकले कर्जाको ब्याजदर ह्वातै बढेका कारण पनि खरिदकर्ताहरु धुरुमुराएको अवस्था छ ।
अब बढेको ब्याजदर के होला ? भनेर सन्त्रास छाएको अवस्था छ ।
बजारमा तरलता अभाव
गत आर्थिक वर्षबाट शुरु भएको तरलता अभाव अझै समाधान हुन सकेको छैन । अझै पनि बैंकहरुबाट सहजै ऋण पाउन सक्ने अवस्था छैन । वित्तीय प्रणालीमा तरलताको अवस्थामा सुधार नभएपछि बैंक तथा वित्तीय संस्थाले १ दिनमै ३१ अर्ब बढी रुपैयाँ अल्पकालिन कर्जा लिएका छन् । नेपाल राष्ट्र बैंकबाट गएको सोमबारमात्रै बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत ३१ अर्ब २१ करोड रुपैयाँ सापटी लिएका हुन्।
राष्ट्र बैंकका अनुुसार असोजयता बैंकहरुले २ खर्ब ४ अर्ब ६२ करोड रुपैयाँ स्थायी तरलता सुविधा लिएका छन्। साउन र भदौमा बैंकहरुले कुल १६ खर्ब ५३ अर्ब ५० करोड ४५ लाख रुपैयाँ एसएलएफबापतको सुुविधा लिएको राष्ट्र बैंकको भनाइ छ। चालुु आर्थिक वर्षको पहिलो महिनामा ८ खर्ब १४ अर्ब ७० करोड ५५ लाख रुपैयाँ सापटी लिएका बैंक तथा वित्तीय संस्थाले भदौमा ८ खर्ब ३८ अर्ब ८९ करोड ९ लाख रुपैयाँ लिएका थिए। प्रणालीमा तरलताको अभाव हुँदा बैंकहरुले राष्ट्र बैंकबाट सापटीमा रुपमा एसएलएफ सुुविधाको प्रयोग गर्दछन्। जसको ब्याजदर ८.५० प्रतिशत छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष बैंकर्स संघका अध्यक्ष अनिल उपाध्याय अहिले बैंकहरुमा नयाँ ग्राहकलाई कर्जा दिने पैसा नभएको बताउनुहुन्छ । अध्यक्ष उपाध्यायले नयाँ ग्राहकलाई कर्जा दिने पैसा नभएको र पुरानालाई एक महिनाको समय दिएको उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, ‘राष्ट्र बैंकले दिएको निर्देशन अनुसार बैंकहरुले ४.४ को स्प्रेड रेटमा बस्ने हो । बैंकहरु निक्षेपको लागतको आधारमा चल्ने हो । गत आर्थिक वर्षमा बैंकहरुको सञ्चालन नाफा जम्मा ८.९२ प्रतिशतले बढेको छ । १०.५२ प्रतिशत अघिल्लो वर्षमा गरेको जोखिम प्रोभिजनबाट राइट ब्याक गरेको आम्दानी हो । तपाईंहरु पनि लगानी कर्ता हुनुहुन्छ होला, लगानीमा प्रतिफल कति छ भन्ने कुरा हेर्न सक्नुहुन्छ । लगानीमा प्रतिफल ३-४ वर्ष अगाडि कति थियो र अहिले कति छ ?बैंकहरुको फी तथा कमिसन आम्दानी करिब ५ प्रतिशतले मात्रै बढेको छ । ट्रेडिङ आम्दानी ३५ प्रतिशतले घटेको छ । अन्य सञ्चालन आम्दानी करिब ४० प्रतिशतले घटेको छ ।’
बैंकहरुले लिनुपर्ने एटीएम शुल्क, ट्रान्सफर शुल्क नलिएर कर्जा शुल्क मात्रै लिएर काम गरेको उहाँको भनाइ छ । स्रोत अभाव भएर बैंकहरुले पछिल्लो ६ महिना कर्जा लगानी गर्न नसकेको उहाँले बताउनुभयो ।
बैंकहरुले वार्षिक ८/९ प्रतिशतको रिटर्नमा काम गरिरहेको उहाँको भनाइ छ । उहाले भन्नुहुन्छ, ‘बैंकहरुले यो चुनौतीबीच दुई पटक ब्याजदर बढाएका छन् । ब्याजदर वृद्धि पनि निजी क्षेत्रको हितमा नै हुने गरी समय दिएर बढाएका छौं । बजार, मुद्रास्फीति तथा व्यवसायीलाई असर नहोस् भनेर कात्तिक मंसिरमा ब्याजदर बढाएका हौं । निजी क्षेत्रले पनि बढेको ब्याजदरका लागि तयार गर्न सकुँन् भनेर त्यसो गरिएको हो ।’




