
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले साढे २ महिनामा राष्ट्र बैंकबाट झण्डै सवा १८ खर्ब रुपैयाँ अल्पकालिन कर्जा लिएका छन् । यो गत साउनदेखि यही असोज ९ गतेसम्मको तथ्यांक हो । सो अवधिमा बैंक तथा वित्तीय संस्थाले स्थायी तरलता सुविधा (एसएलएफ) मार्फत मात्र १८ खर्ब २७ अर्ब रुपैयाँ सापटी लिएका छन् ।
बैंकलाई अप्ठ्यारो परेको अवस्थामा सरकारी ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट लिने अल्पकालीन कर्जा सुविधा एसएलएफ हो । सरकारी ऋणपत्रको बढीमा ९० प्रतिशतसम्म यस्तो कर्जा पाइन्छ । गत वर्षदेखि यसलाई बैंक तथा वित्तीय संस्थाले नियमित जस्तै बनाएका छन् ।
यो क्रमलाई नियन्त्रण गर्न राष्ट्र बैंकले बैंकहरूले लगानी गरेका ट्रेजरी बिल्स खरिद गर्न थालेको छ । त्यस्ता ट्रेजरी बिल्स राष्ट्र बैंकले खरिद गर्दा एकातिर बजारमा पैसा प्रवाह हुन्छ भने अर्कोतिर ब्याजदर धेरै माथी जान पाउँदैन ।



