Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर बजारमा चाडपर्वको रौनक : १८ सय अंक नजिक परिसूचक

२०७३ आश्विन १८ गते
सेयर:

economic 2मंगलबार पनि सेयर बजार वृद्धिको क्रमले निरन्तरता पाएको छ । नेप्से परिसूचक १८.१० अंकले बढेर १७९८.५ अंकमा पुगेको छ । धेरै दिनदेखि उकालो लाग्न नसकेको कारोबार रकममा पनि मंगलबार उल्लेख्य सुधार देखिएको छ । सोमबार परिसूचक दोहोरो अंकले बढ्दा पनि ७९ करोड रुपैयाँको मात्रै कारोबार भएको बजारमा मंगलबार एक अर्ब माथिको कारोबार भएको छ । दिनभरिमा एक सय २६ वटा कम्पनीको १० लाख १७ हजार सात सय ५८ कित्ता सेयर चार हजार चार सय ९४ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब ११ करोड ५३ लाख १९ हजार चार सय ५३ रुपैयाँ पुँजी परिचालन भएको छ । 

मंगलबारको बजार बीमा समूहले उचालेको छ भने होटल, जलविद्युत् र बैंकिङले बीमालाई साथ दिएका छन् । बीमा समूह २३१.८३ अंकले बढ्दा होटल ५३.८ अंकले बढेको छ भने जलविद्युत् २२.४८ अंकले बढेको छ । बैंकिङ समूह भने १७.३६ अंकले बढेको छ । विकास बैंक पनि ७.७३ अंकले बढेको छ । फाइनान्स र अन्य भने क्रमशः २.१९ र ५.४९ अंकले घटेका छन् । 

६० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको शिखर इन्स्योरेन्सले मंगलबार कारोबारमा बाजी मारेको छ । कम्पनीको २० करोड ६१ लाख रुपैयाँभन्दा माथिको कारोबार भएको छ । एनबी बैंकको १७ करोड १७ लाख रुपैयाँभन्दा बढिको कारोबार हुँदा एभरेष्ट बैंकको नौ करोड ६२ लाख माथिको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको चार करोडमाथिको कारोबार भएको छ । प्रभु इन्स्योरेन्स र नेपाल एसबीआई बैंकको तीन करोडमाथिको कारोबार हुँदा लुम्बिनी जेनेरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु बैंक प्रोमोटर, नेपाल इन्भेष्मेन्ट बैंक लगायतको दुई करोडमाथिको कारोबार भएको छ ।

बैंक अफ काठमाण्डू लुम्बिनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.८८ प्रतिशतका दरले कमाउँदा कुमारी बैंक, प्रभु बैंक र ज्योति विकास बैंकका लगानीकर्ताले क्रमशः ९.८०, ९.७७ र ९.३३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । सानिमा हाइड्रोका सेयरधनीले ८.९९ प्रतिशतले कमाएका छन् भने सांग्रीला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.३३ र प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताले ६.३२ प्रतिशतका दरले कमाएका छन् । एनबी इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, तिनाउ डेभलपमेन्ट बैंक लगायतका लगानीर्ताले पनि कमाएका छन् ।

यता, गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको महिला सहयात्रा माइक्रोफाइनान्सका लगानीकर्ताले ३.९२ प्रतिशतका दरले गुमाउँदा लुम्बिनी फाइनान्सका लगानीकर्ताले ३.६९ प्रतिशतका दरले गमाएका छन् भने राप्ती भेरी विकास बैंकका लगानीकर्ताले ३.६६ प्रतिशतका दरले गुमाएका छन् । डिप्रोस्क डेभलपमेन्ट बैंकका सेयरधनीले पनि ३.४४ प्रतिशतका दरले सम्पत्ति घटाएका छन् । मंगलबार गुमाउने अन्य कम्पनीहरुमा विजय लघुवित्त, सिन्धु विकास बैंक, टुरिजम डेभलपमेन्ट बैंक, सगरमाथा फाइनान्स, छिमेक लघुवित्त, वरियन्टल होटल्स लगायत छन् ।