Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

ब्याजदर नियन्त्रण गर्न लगातार ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

२०७९ आश्विन ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष लागेपछि ४१ अर्ब ८६ करोड बराबरको ट्रेजरी बिल आफैंले खरिद गरेको छ । राष्ट्र बैंकले नवीकरणका लागि बोलकबोल गरेको ट्रेजरी बिलको ब्याजदर दोहोरो अंकमा पुगेपछि राष्ट्र बैंकले आफैं खरिद गरेर ब्याजदरमा हस्तक्षेप गरेको हो ।

राष्ट्र बैंकले २ असोज आइतबार २८ दिन, ९१ दिन र १८२ दिन अवधिको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल गरेको थियो । जसमध्ये २८ दिन अवधिको २ अर्बको ट्रेजरी बिल बोलकबोल गरेको थियो । २ अर्ब नै बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ८.७८०६ प्रतिशत र अधिकतम ९.१९९७ प्रतिशत तथा औसत ८.९३३५ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै आइतबार नै ९१ दिनको ५ अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल नवीकरणका लागि बोलकबोल भएको थियो । जसमध्ये २ अर्ब ४२ करोड राष्ट्र बैंकले नै खरिद गरेर ३ अर्ब ११ करोड बैंकहरुलाई नवीकरण गरिएको छ । जसको डिस्काउन्ट रेट न्युनतम ८.९९० र अधिकतम ११.२२१८ प्रतिशत तथा औसत ९.८७४७ प्रतिशत कायम भएको छ ।

आइतबार नै बोलकबोल भएको १८२ दिन अवधिको ४ अर्ब ३० करोडको ट्रेजरी बिल नवीकारणका लागि बोलकबोल भएकोमा २ अर्ब ३९ करोडको राष्ट्र बैंकले नै खरिद गरेर १ अर्ब ९१ करोड मात्रै बैंकहरुलाई नवीकरण गरेको छ । जसको डिस्काउन्ट रेट न्यूनतम ९.१ प्रतिशत र अधिकतम ९.९९०१ प्रतिशत कायम हुँदा औसत ९.६६७६ प्रतिशत कायम भएको छ ।

साउन पहिलो साता मौद्रिक नीति सार्वजनिक गरेको राष्ट्र बैंकले बैंकदरमा वृद्धि गर्नुको साथै राष्ट्र बैंकबाट पाउने तरलता सुविधामा पनि कडाइ गरेको थियो । त्यसपछि बैंकहरुले अल्पकालीन ब्याजदर (ट्रेजरी बिलको ब्याजदर) बढाएर १४ प्रतिशतसम्म पु¥याएपछि राष्ट्र बैंकले हस्ताक्षेप गरेर एकल अंकमा झारेको थियो ।

मौद्रिक नीति अगाडि २ साउनमा बोलकबोल भएको ट्रेजरी बिलको औसत ब्याजदर एकल अंकमा थियो । तर, १० साउनमा भएको बोलकबोलमा १४ प्रतिशत ब्याजदर पुर्याउँदा पनि राष्ट्र बैंकले स्वीकार गरेपछि त्यसपछि लगातार राष्ट्र बैंक आफैंले खरिद गरेर एकल अंकमा झारेपछि भदौ २७ मा भएको बोलकबोल भने सबैं बैंकहरुलाई नै नवीकरण गरेको थियो । तर, आइतबारको बोलकबोलमा ब्याजदर पुनः डबल डिजिटमा पुग्ने अवस्था भएको राष्ट्र बैंकले नै खरिद गरेको छ ।

ट्रेजरी बिलको ब्याजदर बढ्दा सरकारको खर्च बढ्न भएकोले पनि राष्ट्र बैंकले ट्रेजरी बिलको ब्याजदर नियन्त्रण गर्न आफैंले खरिद गरिरहेको छ ।

के हो ‘ट्रेजरी’ बिल ? कसरी जारी गरिन्छ ?

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । यी विभिन्न अवधिका ट्रेजरी बिलहरू आवश्यकतानुसार निष्कासन गरिन्छन् ।

सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल विक्रि गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ । बोलकबोलमा बहु–बोलमूल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मूल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मूल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडीङ प्रणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सट्टा डिस्काउण्ट दर लागू गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्दछन् । ट्रेजरी बिलको बोल आह्वान गर्दा आह्वान रकमको कम्तिमा १५ प्रतिशत रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । ट्रेजरी बिलको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइदैन । अप्रतिस्पर्धीको रूपमा बोल गर्दा माग रकममात्र उल्लेख गर्नु पर्दछ, मूल्य उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिस्पर्धी बोलवालालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । एउटै बोलकबोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने पाइदैन ।

ट्रेजरी बिलको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र ट्रेजरी बिल आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनुपर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नुपर्दछ । नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो यस बैंकमा रहेको खातामा मौज्दात कायम गर्नुपर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाकोअर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ ।

ट्रेजरी बिलको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । ट्रेजरी बिलको बोलकबोल प्रत्येक हप्ताको सोमबार हुने गर्दछ भने निष्कासन सोको भोलिपल्ट अर्थात मंगलबार गर्ने गरिन्छ । बोलकबोलको परिणामको जानकारी पनि मंगलबार नै दिने गरिन्छ । ट्रेजरी बिल बोलकबोलको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट  (www.nrb.org.np) का साथै अनलाइन बिडीङ प्रणाली  (http:\\ obss.nrb.org.np/pd) मार्फत प्रकाशित गरिन्छ ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलकोबाँडफाँट गरिन्छ । बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको हकमा ट्रेजरी बिल आवेदन खाता खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ । बोलकबोलमा सफल बोलवालालाई प्रमाणको रूपमा विवरणसहितको प्रमाणपत्र (Advice) उपलब्ध गराइन्छ । ट्रेजरी बिलको निष्कासनमा डिस्काउण्ट रकम कटाएर बाँकी रकम मात्र जम्मा गरिन्छ भने तोकिएको मितिमा पूरा रकम (प्रमाणपत्रमा अंकित मूल्य) भुक्तानी गरिन्छ ।

भुक्तानी मिति अगावै ट्रेजरी बिलको प्रमाणपत्र रिपो, सोझै खरिद, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा तथा अन्तरबैंक कारोबारमा प्रयोग गर्न सकिन्छ । ब्यक्तिको हकमा ट्रेजरी बिलको प्रमाणपत्र धितो राखी यस बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सकिन्छ । ट्रेजरी बिललाई प्रमिशरी नोटसरह खरिदकर्ता र बिक्रीकर्ता मिली एक–आपसमा दरपीठ गरी खरिद–बिक्री गर्न सकिन्छ । तर त्यस्तो कारोबारको जानकारी राष्ट्रऋण व्यवस्थापन विभागलाई दिनुपर्दछ । ट्रेजरी बिलमा गरिएको लगानीबाट आर्जित आम्दानीमा आयकर लाग्ने व्यवस्था छ । राष्ट्र बैंकले ट्रेजरी बिल यसरी आव्हान गर्ने गर्दछ ।