
बैंकिङ खबर/रेमिट्यान्स बढ्दा र आयातमा कमी हुँदा पनि विदेशी मुद्रा सञ्चिति भने सुध्रिएको छैन् । अघिल्लो साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स करिब २० प्रतिशतले बढेको र आयात करिब २९ प्रतिशतले कमी आउँदा पनि विदेशी मुद्रा सञ्चिति करिब १८ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनमा उल्लेख छ ।
गत भदौमा मात्र सरकारले विदेशी मुद्रा सञ्चितिमा सुधार भएको भन्दै त्यसअघि रोक्का गरिएका चुरोट तथा सुर्तीजन्य वस्तु, तास, खेलौना, कुरकुरे, कुरमुरे, लेज, रंगीन टीभी, हीरालगायत ६ प्रकारका वस्तुको आयात खुलाएको थियो । तर गत असारको तुलनामा साउनमा कुल विदेशी विनिमय सञ्चिति करिब १८ अर्ब रुपैयाँले घटेको छ ।
प्रतिवेदनका अनुसार गत साउनमा कुल विदेशी मुद्रा सञ्चिति ११ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँ छ । गत असारको तुलनामा यो १।५ प्रतिशतले घटेको हो । गत असारमा यस्तो सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति ०७९ असारमा ९ अर्ब ५४ करोड रहेकामा ०७९ साउन मसान्तमा १.२ प्रतिशतले कमी आई ९ अर्ब ४२ करोड कायम भएको छ ।
गत आर्थिक वर्षमा भएको केही आयातको बाँकी भुक्तानी साउनमा भएकाले पनि रेमिट्यान्स बढ्दा र आयात घट्दा पनि विदेशी मुद्रा सञ्चितिमा कमी भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।
गत साउनमा रेमिट्यान्समार्फत ९२ अर्ब २१ करोड रुपैयाँ मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो करिब २०।३ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको साउनमा ७६ अर्ब ६२ करोड रुपैयाँ बराबर
रेमिट्यान्स नेपाल भित्रिएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु वर्षको सोही अवधिमा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या बढ्नु र गत वर्षको साउनमा थोरै रेमिट्यान्स आउनुले गत साउनमा रेमिट्यान्स वृद्धिदर उच्च देखिएको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार गत साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ सय २२.८ प्रतिशतले बढेर ४४ हजार ५ सय ४० पुगेको छ । सोही अवधिमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ७५.४ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको साउनदेखि चैतसम्म रेमिट्यान्स लगातार घटिरहेको थियो । तर वैशाखदेखि रेमिट्यान्सको वृद्धिदर सकारात्मक हुन थालेको हो । यसअनुसार गत वैशाखमा ०.२ प्रतिशत बढेको रेमिट्यान्स जेठमा ३.८ प्रतिशत र असारमा ४.८ प्रतिशतले वृद्धि भएको थियो । गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत १० खर्ब ७ अर्ब रुपैयाँ मुलुक भित्रिएको थियो ।
मुलुकको शोधनान्तर स्थिति गत साउनमा २२ अर्ब २३ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३८ अर्ब ७५ करोडले घाटामा थियो । ‘अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३२ करोड ५५ लाखले घाटामा रहेको शोधनान्तर स्थिति गत साउनमा १७ करोड ७७ लाखले घाटामा रहेको छ,’ राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।
गत आर्थिक वर्षमा १ अर्ब २३ करोड रुपैयाँले घाटामा रहेको शोधनान्तर स्थिति गत असारसम्म करिब २ खर्ब ५५ अर्ब २६ करोड रुपैयाँले घाटामा थियो । गत आर्थिक वर्षको पहिलो महिनादेखि नै शोधनान्तर घाटा निरन्तर बढिरहेको थियो । यद्यपि गत वैशाखदेखि शोधनान्तर घाटाको वृद्धिदरमा कमी आउन थालेको हो । आयात नियन्त्रण र रेमिट्यान्समा सुधार हुन थालेपछि ती सूचकमा सीमान्त रूपमा सुधारको संकेत देखिन थालेको थियो ।




