
बैंकिङ खबर/ वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२ प्रतिशत पुगेको छ। केन्द्रीय बैंकका अनुसार साउन अन्तिमसम्ममा नै बैंकहरुको कर्जाको औसत ब्याजदर ११.९४ प्रतिशत पुगेको हो।
कोभिडका कारण करिब १८ महिना एकल अंकमा झरेको बैंकहरुको कर्जाको औसत ब्याजदर पुनः महंगिदै गएको छ। विगत १ वर्षमा नै बैंकको ब्याजदर करिब साढे ४ प्रतिशत विन्दुले बढेको छ।
आर्थिक वर्ष २०७७/७८ को अन्तिममा ८.४६ प्रतिशतमा झरेको बैंकहरुको ब्याजदर सोपश्चात उकालो लाग्न थालेको थियो। केन्द्रीय बैंकको तथ्यांक अनुसार गत वर्षको माघदेखि नै बैंकहरुको औसत ब्याजदर दोहोरो अंकमा उक्लिएको छ।
माघमा बैंकहरुको कर्जाको ब्याजदर औसतमा १०.३१ प्रतिशत पुगेको थियो। अहिले पनि तरलता सहज नभएकाले निक्षेपको ब्याजदर घट्ने सम्भावना न्यून रहेको बैंकरहरु बताउँछन्।



