२०७३ आश्विन १७ गते

सेयर बजारमा सोमबार पनि वृद्धि कायमै : १७८० अंकमा परिसूचक

economicसोमबार नेपाल स्टक एक्सचेन्जमा ७९ करोड रुपैयाँको कारोबार भएको छ । दिनभरिमा एक सय ३६ वटा कम्पनीको आठ लाख ९६ हजार ४१ कित्ता सेयर तीन हजार सात सय ३१ पटक खरिदविक्रि हुँदा कुल ७९ करोड तीन लाख ४३ हजार एक सय ७५ रुपैयाँ बराबरको कारोबार भएको हो । कारोबार रकम आइतबारको तुलनामा घटेको हो । आइतबार ८८ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो ।

कारोबारमा गिरावट आएपनि बजार भने दोहोरो अंकले बढेको छ । बजार खुलेदेखि नै उकालो गतिमा रहेको नेप्से परिसूचक  १६.६२ अंकले बढेर १७८०.४० अंकमा पुगेर बन्द भएको छ । अन्य समूहबाहेक सबै समूह बढेका छन् । सबैभन्दा धेरै बीमा समूह १३५.१४ अंकले बढेको छ भने होटल २७.०९ अंकले बढेको छ । बैंकिङ १७.८ अंकले बढ्दा विकास बैंक १०.९४, फाइनान्स ९.९६, उत्पादनमूलक ७.०२ र जलविद्युत् ५.७८ अंकले बढेको छ । अन्य समूह भने १.७४ अंकले घटेको छ । 

एनबी बैंकको सेयरमा सोमबार सबैभन्दा धेरै आकर्षण रहेको देखिएको छ । बैंकको १४ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको आठ करोड ४७ लाख रुपैयाँ र एभरेष्ट बैंकको छ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी जेनेरल इन्स्योरेन्स र सिद्धार्थ बैंकको दुई करोडमाथिको कारोबार हुँदा मुक्तिनाथ विकास बैंक, नेपाल इनभेष्टमेन्ट बैंक, सेवा विकास बैंक लगायतको एक करोडभन्दा माथिको कारोबार भएको छ । सोमबार सेयर किन्ने भन्दा पनि बेच्नेहरुको संख्या बढि रहेको नेप्सेले जनाएको छ । 

लामो समयपछि कारोबार सुचारु भएको दिन प्रभु बैंकका लगानीकर्ताले सबैभन्दा धेरै ९.९२ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । बैंक अफ काठमाण्डू लुम्बिनी, ज्योति विकास बैंक र कुमारी बैंकका लगानीकर्ताले क्रमशः ९.८९, ९.८४ र ९.८१ प्रतिशतका दरले कमाएका छन् । महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले ७.८३ प्रतिशतका दरले कमाउँदा सप्तकोसी डेभलपमेन्ट बैंक, नेरुडे लघुवित्त, एनबी इन्स्योरेन्स लगायतका लगानीकर्ताले पनि राम्रै कमाएका छन् । 

जम्मा ४१ वटा कम्पनीका लगानीकर्ताले अधिकतम ६.४५ प्रतिशतदेखि न्युनतम ०.१२ प्रतिशतसम्मले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा नमस्ते वित्तीय संस्थाका लगानीकर्ता छन् भने कम गुमाउनेमा नेपाल इन्भेष्टमेन्ट बैंकका लगानीकर्ता छन् । यसबाहेक, मिरमिरे माइक्रोफाइनान्सका लगानीकर्ताले ५.१४ प्रतिशतले गुमाएका छन् । मनास्लु विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स, सनराइज बैंक, ललितपूर फाइनान्स लगायतका लगानीकर्ताले तीन प्रतिशतभन्दा बढीले गुमाएका छन् ।