
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले बैैंकहरुले निक्षेप तान्न जथाभावी ब्याजदर बढाएपछि अनुगमन थालेको छ । निक्षेपको ब्याजदर जथाभावी बढाएको धेरै गुनासो आएपछि सुपरीवेक्षण विभागबाट अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले हरेक महिना निक्षेपको ब्याजदर प्रकाशित गरेर तलमाथि गर्नसक्ने व्यवस्था गरेको भन्दै ब्याजदर प्रकाशित गरेर बढाउन सकिने तर, छिद्र खोज्ने कार्य स्वीकार्य नहुने डेपुटी गभर्नर बमबहादुर मिश्रले बताए ।
ब्याजदरका विषयमा एउटा बैंकले अर्को बैंकमाथि उजुरी गर्ने क्रम बढेको र दुई दर्जन भन्दा बढी उजुरी आफूलाई आएको भन्दै डेपुटी गभर्नर मिश्रले त्यसमा अध्ययन हुने बताएका छन् ।
ब्याजदर र निक्षेप खोसाखोस गर्ने उजुरी बढेसँगै राष्ट्र बैंकले उजुरीका आधारमा छानबिन सुरु गरेको राष्ट्र बैंकले जनाएको छ । उजुरीको आधारमा बैंकहरुसँग विवरण माग गरिएको छ ।
निक्षेपकर्तालाई स्वघोषणा गराएर बैंकहरुले रेमिट्यान्स निक्षेप भन्दै प्रकाशित ब्याजदरमा दुई प्रतिशतसम्म बढी ब्याज दिइरहेका छन् ।यस्तै संस्थागत निक्षेपकर्तालाई समेत व्यक्तिगत निक्षेपकर्तालाई प्रकाशित गरेको ब्याजदर दिइरहेका छन् ।




