प्रभु बैंकको सेयर कारोबार सोमबारदेखि खुलेको छ । ग्राण्ड बैंकसँगको मर्जर प्रक्रिया पुरा गरी एकीकृत बैकिङ कारोबार सुरु गरेको १० महिना पछि साविकको प्रभु बैंकको सेयर कारोबार खुलेको हो । नेपाल राष्ट्र बैंकले ग्राण्ड बैंकको सेयर कारोबार रोकेर प्रभुको मात्र खोल्न अनुमति दिएपछि नेप्सेले प्रभुको मात्र सेयर कारोबार खुलेको बताइएको छ ।
प्रभु बैंकले जारी गरेको २० प्रतिशत हकप्रद समायोजन पश्चात बैंकको प्रतिकित्ता सेयरमूल्य ३६३ रुपैयाँ तोकिएको नेप्सेले जनाएको छ । बैंकको मर्जरमा जानुअघि नेप्सेमा प्रतिकित्ता ४१५ रुपैयाँमा सेयर किनबेच भएको थियो ।
तर ग्राण्ड बैंकको सेयर कारोबार २० महिनादेखि रोक्का रहेको छ । उक्त शेयरको कारोबार किन नखुलाइएको भन्ने सम्बन्धमा राष्ट्र बैंकले केही बताएको छैन ।


