
बैंकिङ खबर/ गत आर्थिक वर्षबाटै शुरु भएको तरलता अभाव चालु आर्थिक वर्षको दुई महिना लाग्दा समेत समाधान हुन सकेको छैन । तरलता अभावकै कारण बैंकहरुको व्यवसाय विस्तार सुस्त देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातदेखि नै देखिएको तरलता अभावले गर्दा बैंकहरुसँग लगानीयोग्य पैसा छैन जसले गर्दा उनीहरुको व्यवसाय सुस्ताएको हो ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा बैंकहरुको कर्जा लगानी ५ अर्ब रुपैयाँभन्दा कम छ । गत असार मशान्तसम्ममा नै ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरिसकेका बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएको २ महिना वित्न लाग्दा पनि ५ अर्बभन्दा कम कर्जा दिएका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गएको मंगलबारसम्ममा बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ छ । यस वर्ष बैंकहरुको कर्जा लगानी विगतका वर्षहरुमा भन्दा सुस्त देखिन्छ। गत वर्ष साउनमा बैंकहरुको कर्जा ४३ अर्बले बढेको थियो भने भदौमा १ खर्ब ८ अर्ब रुपैयाँले बढेको थियो। सो अनुपातमा यस वर्ष कर्जा लगानी निकै कम देखिन्छ।
चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको सिमालाई पनि घटाएको छ। गत वर्ष १९ प्रतिशत कर्जा विस्तारको लक्ष्य राखेकोमा चालु आर्थिक वर्षको मौद्रिक नीतिले १२.६ प्रतिशत मात्रै कर्जा विस्तारको लक्ष्य राखेको छ। अहिले बैंकिङ्ग प्रणालीमा तरलता अभावले बैंकहरुसँगकर्जा लगानी गर्ने पैसा छैन।
केहि बैंकको सिडि रेशियो अहिले नै ९० प्रतिशतकै हाराहारी छ। सिडि रेशियो ९० प्रतिशतभन्दा माथि गएर बैंकहरुले कर्जा लगानी गर्न पाउँदैनन्। अहिले बैंकहरुमा निक्षेप संकलन समेत बढ्न नसकेकोले उनीहरुको व्यवसाय विस्तारमा धक्का लागेको छ। साउनयता नै बैंकहरुको निक्षेप संकलन १ खर्ब रुपैयाँले घटेको छ ।
असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संकलन मंगलबारसम्ममा ४४ खर्ब ४१ अर्ब रुपैयाँमा झरेको छ। पर्याप्त रुपमा निक्षेप नआउँदा अहिले बैंकहरुले राष्ट्र बैंकसँग हरेक दिन सापटी लिएर तरलता व्यवस्थापन गर्दै आएका छन्।
१५ खर्ब बढी एसएलएफ सुविधा
बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले भदौ २३ गतेसम्म १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।
राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि भदौ २३ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ८५० कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । बिहीबार नै बैंकहरुले ५२ अर्ब ७६ करोड १५ लाख एसएलएफ सुविधा लिएका छन् ।
यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तो सुविधा लिएका छन् ।
बैंकहरुले नगद व्यवस्थापन गर्न धौं धौं परेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।
अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ ।
बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।
बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।
बैंकमा तरलता चाप छैन : डेपुटी गभर्नर मिश्र
यता नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले बैंकहरुमा तरलता अभाव नभएको स्पष्ट पार्नुभएको छ । शुक्रबार नेपाल उद्योग परिसंघले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै डेपुटी गभर्नर मिश्रले नेपालमा तरलता अभाव भन्दा पनि लगानीयोग्य पूँजीको अभाव भएको बताउनुभयो ।
विदेशी राष्ट्रको समेत प्रतिनिधित्व भएको सम्मेलनमा बारम्बार तरलताको चाप रहेको भन्दा बाहिर राम्रो सन्देश नजाने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘अहिले बैंकहरुमा तरलता चाप छ भनिरहनुभएको छ। बैंकहरुमा तरलताको चाप छैन। ऋण लगानीमा केही अप्ठ्यारो मात्रै हो। बारम्बार तरलता चाप छ भनिरह्यौँ भने विदेशी मुलुकमा नराम्रो प्रभाव पर्न जान्छ । हेजिङको विषय उठेन भने पूर्वाधार विकासको लगानी अधुरो रहन्छ । अहिले नेपाल सरकारको बजेट र राष्ट्र बैंकको नीतिमा हेजिङ शब्द लेखिएको हुन्छ। तर डुएबल भएको छैन ।’




