
बैंकिङ खबर/ बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पूर्ति गर्न नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको रिपोमा बढी आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो। तर, बैंक तथा वित्तीय संस्थाले ३० अर्ब रुपैयाँ माग गरेका छन् ।
अघिल्लोपटकको रिपोभन्दा यसपटकको रिपोमा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाएर आवेदन दिएको केन्द्रीय बैंकले जनाएको छ। १४ दिने रिपोका लागि १२ बैंक तथा वित्तीय संस्थाले ४१ वटा आवेदनमार्फत ३० अर्ब रुपैयाँबराबरको बोलकबोल पेस गरेका छन्।
केन्द्रीय बैंकका अनुुसार न्यूनतम ८.२४४४ प्रतिशत र अधिकतम ८.५५०० प्रतिशत ब्याजदरमा बैंकहरुले आवेदन गरेका हुुुन्। तर, उक्त रिपोको औसत ब्याजदर ८.४५० प्रतिशत कायम भएको छ । आउँदो असोज ६ गते यो रिपो परिपक्व हुनेछ।
यसअघि पनि ३० अर्ब रुपैयाँको रिपो जारी गरिएकोमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ माग गरेका थिए। त्यसका लागि २१ बैंक तथा वित्तीय संस्थाले ७ वटा आवेदनमार्फत ६० अर्ब रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। बैंकहरुले न्यूनतम ८.२००० प्रतिशत र अधिकतम ८.५५०० प्रतिशत ब्याजदरमा बैंकहरुले आवेदन दिएका थिए। तर, उक्त रिपोको औसत ब्याजदर ८।३१६ प्रतिशत कायम भएको थियो।
तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाले निरन्तर दोस्रोपटक पनि जारी गरिएकोभन्दा बढीको रकम माग गर्दै आवेदन दिएका छन्। यसले अझै पनि बैंकिङ प्रणालीसँग तरलता संकट कायमै रहेको संकेत गर्दछ।
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा नेपाल राष्ट्र बैंकले अल्पकालीन (अधिकतम सात दिनको) अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने उपकरण “रिपो” हो ।




