
बैंकिङ खबर/ मर्जर सम्झौता गरेका नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) रिपोर्ट तयार भएको छ । दुबै बैंकले एक आपसमा मर्जरमा जाने सहमति गरेपछि शुरु गरिएको डीडीए प्रक्रिया सकिएको हो । डीडीए रिपोर्ट अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको १००ः ९० स्वाप रेसियो कायम भएको बैंक सञ्चालकले बताएका छन् ।
यी दुई बैंकले जेठ २७ गते एक आपसममा मर्जरमा जाने सहमति गरेका थिए । दुबै बैंकको डीडीए रिपोट तयार भएकोले अन्य आन्तरिक प्रक्रिया मिलाएर ढिलोमा पुससम्म एकीकृत कारोबार गरिसक्ने गरी दुबै बैंकले प्रक्रिया अघि बढाएका छन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाललाई एक आपसमा मर्जमा जानको लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको छ । दुवै बैंकलाई असार २२ गते (बुधबार) मर्जरको लागि राष्ट्र बैंकले सैद्दान्तिक सहमति प्रदान गरेको हो ।
सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने छ भने नयाँ बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) ज्योतिप्रकाश पाण्डे, अध्यक्षमा पृथ्वीबहादुर पाण्डे र नायब प्रमुख कार्यकारी अधिकृतमा रबिना देशराज जोशी रहने छन् ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । इन्भेष्टमेन्ट बैंकसँग मेगा बैंकको स्वाप रेसिया १००ः ९० गर्दा मेगा बैंकको चुक्ता पुँजी १४ अर्ब ५० करोड ८४ लाख हुन आउँछ । सो स्वाप रेसियो अनुसार कायम भएको पुँजीलाई मिलान गर्दा मर्जरपछि बन्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी करिब ३२ अर्ब ८१ करोड ५९ लाख पुग्ने देखिएको छ ।
अहिले दोस्रो बजारमा मेगा बैंकको सेयर मूल्य प्रतिकित्ता २२६ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको दोस्रो बजारमा सेयर मूल्य २६५ रुपैयाँ रहेको छ ।




