
बैंकिङ खबर/ मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव नजिकिँदै गर्दा दलहरुले धमाधम उम्मेदवार सिफारिस गर्न थालेका छन् । पार्टीका स्थानीय कमिटी र जिल्लाले उम्मेदवारहरुको नाम प्रदेश हुँदै केन्द्रमा पठाउन थालेका हुने । कतिपय ठाउँमा एकल नाम सिफारिस भएको छ भने धेरै ठाउँमा दुईभन्दा बढी नाम सिफारिस भएका छन् ।
कतिपय शीर्ष नेताहरु चाहिँ एकभन्दा बढी क्षेत्रबाट सिफारिसमा परेका छन् । सिट बाँडफाँटमा सहमति हुन बाँकी रहँदा गठबन्धनका दलहरुभित्रबाट पनि उम्मेदवार सिफारिस भइरहेको छ ।
स्थानीय कमिटीले उम्मेदवार बन्न खोज्नेहरुको नाम समेटेर प्रदेश र केन्द्रमा पठाएपछि केन्द्रले निर्णय गर्नेछ । यसैबीच प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि लामो समयदेखि नेपालको आर्थिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यक्तिहरु पनि सिफारिस भएका छन् । चुनावका लागि उम्मेदवारीमा होम्मिएका केहि संवाहकहरुलाई तल प्रस्तुत गरिएको छ ।
पूर्वगर्भनर डा.नेपाल

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवी नेपाल पाल्पाबाट चुनाव लड्ने हुनुभएको छ । उहाँ पाल्पा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवारका लागि सिफारिस हुनुभएको हो ।
उहाँ चुनाव लड्ने भएसँगै यतिबेला राप्रपा र एमालेका कार्यकर्ताहरु समेत कांग्रेसमा प्रवेश गर्ने तयारीमा छन् । लामो समयदेखि एउटै अनुहाका व्यक्ति चुनावमा उठिरहँदा मतदान गर्न उत्सुक नभएका व्यक्ति पनि मतदानमा उत्सुकता देखाएका छन् ।
डा. नेपाल आर्थिक क्षेत्रमा सक्रिय भएको कारण कुनै पनि पार्टीमा आस्था नराख्ने स्वतन्त्र व्यक्तिमा समेत उत्साह जागेको छ । उहाँलाई पार्टीले उठाउँदा पाल्पामा नयाँ अनुहार पाउनेछ । राष्ट्र बैंकको गभर्नर हुँदा उहाँले वित्तीय क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
यस्तै पाल्पाको कृषि क्षेत्रको उद्यमशिलताको विकासका लागि पनि उहाँको महत्वपूर्ण योगदान रहेको छ । उहाँ पाल्पा तानसेनामा समेत केहि समय प्राध्यापन पेसामा संलग्न हुनुहुन्थ्यो । उहाँ पाल्पाबाट निर्वाचनमा उठ्ने हुनुभएसँगै विद्यार्थीहरुमा समेत उत्सुकता छाएको छ । अर्थतन्त्र बुझेको व्यक्ति भएका कारण पनि पाल्पाको विकासमा फड्को मार्ने अपेक्षा गरिएको छ ।
डा. चिरञ्जीवी नेपालको जन्म वि.स २०१९ सालमा पाल्पामा भएको थियो । उहाँले औपचारिक शिक्षा भने काठमाडौंमा लिनुभएको थियो । सन् १९९४ मा बनारस हिन्दु विश्वविद्यालयबाट श्रम र अर्थतन्त्रको सम्बन्धमा विद्यावारिधि गर्नुभएका नेपाल २८ वर्षदेखि प्राध्यापन पेसामा संलग्न हुनुभयो ।
उहाँले काठमाडौं विश्वविद्यालयका भिजिटिङ प्रोफेसर भएर ६ वर्ष बिताउनुभयो । त्यहाँ एमफिल र २३ जनालाई पिएचडिसमेत गराउनुभएको थियो । उहाँले २२ वर्ष त्रिभुवन विश्वविद्यालयमा अध्यापन गराउनुभयो । सुशिल कोईराला प्रधानमन्त्री हुँदा उहाँ आर्थिक सल्लाहकार बन्नुभएको थियो । सल्लाहकार रहेकै समयमा उहाँलाई नेपाल राष्ट्र बैंकको १६ औँ गभर्नर नियुक्त गरिएको थियो ।
राष्ट्र बैंकमा गभर्नर हुँदा डा. नेपालले बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गराउनुभएको थियो भने बिग मर्जरको आरम्भकर्ता पनि उहाँ नै हुनुहुन्छ । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार, अर्थ शास्त्रीहरूको संगठन नेपाल आर्थिक संघका उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सका प्रमुख सल्लाहकार, आइटी पार्कको पहिलो प्रमुख, औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक, नेपाल धितोपत्र बोर्डका कार्यकारी अध्यक्ष र विश्व बैंकको स्कुल सपोर्ट कार्यक्रमको संयोजकका रुपमा समेत उहाँले काम गरिसक्नुभएको छ । उहाँले धितोपत्र बोर्डमा रहँदा पनि राम्रो काम गर्नुभएको थियो ।
यस्तै उहाँ मिलेनियम च्यालेन्ज कोअपरेसनका प्रमुख अर्थशास्त्री, २०३६ सालमा पाल्पा जिल्लामा नेविसंघको संस्थापक अध्यक्षका रुपमा समेत काम गर्नुभएको थियो । ५ वर्ष गभर्नरको कार्यकाल पुरा गरेपछि नेपाल पछिल्लो समय पाल्पा क्षेत्र नम्बर २ को राजनीतिमा सक्रिय हुनुहुन्छ । उहाँ स्थानीय तह निर्वाचनमा पाल्पामा खटिनुभएको थियो ।
विनोद चौधरी

नेपाली कांग्रेसले नवलपरासी पश्चिमका दुई प्रतिनिधि सभा क्षेत्रबाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ ।
क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा अर्बपति विनोद चौधरीलाई सिफारिस गरेको छ । नेपालका एक मात्र अर्बपति चौधरी विश्वकै १९२९औं धनी व्यक्ति हुनुहुन्छ । फोर्ब्सले सार्वजनिक गरेको वर्ल्ड र्यांकिङ अनुसार चौधरी कुल १.५ अर्ब डलर रहेको छ ।
चौधरीको जन्मः वि.सं. २०१२ वैशाखमा काठमाडौंमा भएको हो । उहाँका हजुरबुबा, भुरामल दास चौधरी एक उद्यमी हुनुहुन्थ्यो । उहाँका बुबा पनि एक व्यवसायी हुनुहुन्थ्यो । जसले आफ्ना बुबाको व्यवसायलाई अझै विकसित गर्नुभयो । उहाँलाई नेपाली उद्योगी, अर्बपति, राजनीतिज्ञ तथा समाजसेवीका रुपमा चिनिन्छ । उहाँ चौधरी ग्रुपको अध्यक्ष तथा कार्यकारी प्रमुखसमेत हुनुहुन्छ ।
वि.सं. २०६९ सालमा, उहाँ नेपालको सबैभन्दा धनी र नेपालको पहिलो अर्बपति बन्न सफल हुनुभएको थियो । उहाँ सफल व्यवसायी र अर्थतन्त्र बुझेको व्यक्ति हुनुहुन्छ । उनी एकीकृत माक्सवादी लेनिनवाद (नेकपा–एमाले) को प्रतिनिधित्व गर्दै नेपालको संसदको सदस्य हुनुभयो ।
वि.सं. २०६४ सालमा एमालेले उहाँलाई सभासद बनाएको थियो । प्रतिनिधिसभा निर्वाचन, २०७४ अघि उहाँ कांग्रेसमा प्रवेश गर्नुभएको थियो ।वि.सं. २०७४ सालमा उहाँ एमाले छाडेर कांग्रेसमा आवद्ध हुनुभएको थियो । संविधानसभा निर्वाचन, २०६४ नेकपा एमालेबाट समानुपातिक सांसद् रहनुभएका उहाँ वि.सं. २०७४ मा, नेपाली काङ्ग्रेसबाट समानुपातिक उम्मेदवार बन्नुभएको थियो ।
देवीप्रकाश भट्टचन

व्यवसायी तथा प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि सिफारिस हुनुभएको छ । उहाँलाई नेपाली कांग्रेसले बाग्लुङ क्षेत्र नं २ को लागि उम्मेदवार सिफारिस गरेको हो । क्षेत्रीय कार्यसमिति बैठकले उहाँको नाम सिफारिस गरेको हो । यस क्षेत्रबाट हाल माओवादी केन्द्रका देवेन्द्र पौडेल सांसद छन् ।
उहाँ २०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश हुनुहुन्थ्यो । २०७७ सालमा उहाँले नेपाली कांग्रेसको संगठन विभागको उपसंयोजकको जिम्मेवारी पाउनुभएको थियो । भट्चन विगतदेखि नै राजनीतिक रुपमा नेपाली कांग्रेससँग नजिक हुनुहुन्थ्यो । भट्टचन व्यवसायिक समूह प्रभु ग्रुपका अध्यक्ष हुनुहुन्छ। प्रभु ग्रुपले बैंक,बीमा,रेमिटेन्स,हेलिकप्टर,सहकारी लगायतका व्यवसाय संचालन गर्छ ।
भगवती चौधरी

नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ बाट भगवती चौधरीको एकल नाम सिफारिस भएको छ । प्रतिनिधिसभा क्षेत्र नं. ३ मा चौधरीको एकल नाम सिफारिस भएको हो । दुईपटकसम्म नेपाली कांग्रेसका विजयकुमार गच्छदारसँग पराजित हुनुभएकी उहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिनुहुन्छ ।
नेपालको लघुवित्त क्षेत्रकी एक हस्ती हुनुुहुन्छ भगवती चौधरी । नेकपा एमालेकी नेतृ एवम् पूर्व राज्यमन्त्रीसमेत रहनुभएकी चौधरी वि.स २०२८ वैशाख २ गते सुनसरीमा जन्मिनुभएको थियो । राजनीतिक पृष्ठभूमिमा हुर्किनुभएकी भगवतीका हजुरबुवा कुमहरलाल चौधरी वडाध्यक्ष हुनुहुन्थ्यो भने बुबा डेमोक्रयाटिकका समर्थक हुनुहुन्थ्यो । जसले गर्दा उहाँलाई समाजसेवा र राजनीतिमा प्रवेश गर्न सहज भयो ।
मधेसी समुदायमा चौधरीको परिवार सामाजिक, आर्थिक रूपमा मजबुत थियो । सुनसरी तत्कालिन औराबनी गाविस ३ मा भगवती चौधरीका हजुरबुबा कुमहर लाल चौधरीलाई सबैलाई इज्जत गर्दथे । खेतीपातीले राम्रोसँग खान पुग्थ्यो । गाउँमा छोरीलाई विद्यालय पठाउनुहुन्न भन्ने सोचले चौधरी समाजमा जरा गाडेको थियो ।
उहाँका हजुरबुबा र बुवा विरन लालचौधरी र आमा लिटिया देवी थरुनी चौधरी आफ्ना सन्तानलाई उचित शिक्षा दिक्षा दिनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । उहाँहरूको यो सपनालाई सामाजिक विभेदले रोक्न सकेन । भगवती चौधरीलाई विद्यालय पठाएर परिवारले एक किसिमले सामाजिक विद्रोह नै गरेका थियो । चौधरी समुदायमा छोरीलाई शिक्षा दिनुहुन्न भन्ने अन्धविश्वासले जरा गाडेको अवस्थामा पनि भगवतीले २०४४ सालमा गाउँकै सरस्वती उच्च माध्यमिक विद्यालय औरावनी सुनसरीबाट एसएलसी दिनुभयो । त्यसपछि उहाँले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट उच्च शिक्षा हासिल गर्न थाल्नुभयो । चौधरी आफ्नो टोलमा क्याम्पस जाने पहिलो महिला समेत हुनुहुन्थ्यो ।
महेन्द्र मोरङ क्याम्पसमा ०४६ सालको जनआन्दोलनमा भाग लिनुभएकी चौधरीले ०४८ सालमा पार्टीको सदस्यता लिनुभएको थियो । त्यसपछि उहाँ राजनीतिकै क्रममा पहिलो संविधानसभा २०६४ मा प्रतिनिधिसभा सदस्य बन्नुभयो । त्यसपछि वन तथा भू–संरक्षण मन्त्रालयको राज्यमन्त्री बनेर काम गर्ने अवसर पाउनुभयो ।
देशको मूल नीति नै राजनीति भएकाले यसैबाट धेरैभन्दा धेरै नागरिकको जीवनस्तर उकास्न सकिन्छ भन्ने उहाँको मान्यता रहेको थियो । जुन अहिले पनि कायम छ ।
राज्य कोषबाट लगानी गरेर देखिने गरी विकास निर्माण लगायतका काम गर्न सकिने भएकाले पनि उहाँले राजनीतिक यात्रा तय गर्नुभएको हो । एक व्यक्ति वा संस्थाले सिमित क्षेत्र अथवा परिवेशका लागि काम गर्न सक्छ, धेरैभन्दा धेरै नागरिकलाई लाभान्वित बनाउनका लागि राज्य कोषबाट नै खर्च गरेर मासबेसमा देखिने गरेर काम गर्न सकिने भएकाले राजनीतिक तर्फ उहाँको यात्रा अगाडि बढिरहेको छ । भगवतीका श्रीमान दिनेश चौधरीको २०६४ साल असार १२ गते सडक दुर्घटनामा मृत्यु भएको थियो । उहाँहरुका एक छोरा द्रव्य चौधरी हुनुहुन्छ ।
भगवती चौधरी ग्रामीण महिला उत्सुकता विकास मञ्च ९फरवार्ड० सुनसरीकी अध्यक्ष हुनुहुन्छ । यस्तै फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लि। सुनसरीको पनि अध्यक्ष हुनुहुन्छ । फरवार्ड बचत तथा ऋण सहकारी संस्था सुनसरीका संस्थापक अध्यक्ष, फरवार्ड इन्टरप्राइजेज सुनसरीको म्यानेजिङ डाइरेक्टर भएर काम गरिसक्नुभएको छ ।
उहाँको संघर्षको योगदान स्वारुप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार पाइ सक्नुभएको छ । उहाँले संविधानसभा सदस्य पदक, २०६५ पाउनुभएको थियो । भगवती चौधरीले लघुवित्त क्षेत्रबाट हजारौं महिलालाई उद्यमशीलताको बाटोमा डोहो¥याउनु भएको छ । उहाँले लघुवित्तमार्फत ग्रामीण अर्थतन्त्र तथा माइक्रो लेवलको उद्यमशीलतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । दुरदराजमा रहेको संघसंस्थाले पनि कुनाकाप्चामा रहेका विपन्न समुदायको घरपरिवार वा समुदायलाई वित्तीय पहुँच पु¥याउन फरवार्डको स्थापना भयो । जसले गर्दा हाल धेरै महिलाहरुलाई उद्यमशीलता बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
निल सारु मगर

नेकपा एमाले पाल्पाले वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट निल सारु मगरलाई संघीय निर्वाचनको लागी पाल्पा जिल्ला क्षेत्र नं १ बाट संघिय सांसद उम्मेदवारको सिफारिस गरेको छ ।
विद्यार्थी कालदेखि अनेरास्ववियुको विभिन्न तहमा रही राजनीतिमा सक्रिय रहनुभएका उहाँ हाल नेपाल उद्योग व्यवसायी महासंघका केन्द्रीय सदस्य र नेकपा एमाले, पाल्पा काठमाण्डौं सम्पर्क मञ्चको अध्यक्ष हुनुहुन्छ । त्यस्तै उहाँ धितोपत्र बोर्डको विज्ञ संचालकको रुपमा ३ वर्ष काम गरेको अनुभव समेत छ ।
आर्थिक नीतिमा पिएचडी गरिरहनुभएका सारुले नेताहरुले युवालाई विश्वास गरेर टिकट दिएको खण्डमा सम्पुर्ण अग्रज नेताहरुको योगदानको सम्मान गर्दै उहाँहरुको सल्लाह बमोजिम अगाडि बढ्ने र चुनावमा भारी मतान्तरका साथ विजयी हुने बताउनुभयो ।



