
बैंकिङ खबर/ खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ सोमबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालय, कमलादीमा सोमबार बिहान १० बजे बाँडफाँट हुने भएको हो ।
लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
त्यसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार १२ हजार ३४० जना आवेदकले मात्रै शेयर पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।




