Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

कुमारी बैंकको ऋणपत्रमा आवेदन खुला

२०७९ भाद्र १७ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडले वार्षिक ११ प्रतिशत ब्याजदरमा आजदेखि ऋणपत्र निष्काशन गर्दैछ। बैंकले १० वर्ष अवधिको ‘११ प्रतिशत केबिएल डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ। सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा भदौ २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि भदौ ३१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई मध्यम कर्जा जोखिम जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने तथा कर्जा जोखिम मध्यम भएको संस्था जनाउछ।