Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउने पक्षमा राष्ट्र बैंक

२०७९ भाद्र १६ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक सेयर कर्जामा लगाइएको १२ करोडको सीमा हटाउने पक्षमा रहेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले काठमाडौंमा आयोजित एक कार्यक्रममा हालैको मौद्रिक नीतिमार्फत ४ करोडको सीमा हटाइएको र १२ करोडको कायम राखेको भएपनि हटाउन खोजिरहेको बताउनुभयो ।

राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीतिमार्फत सेयर कारोबारका लागि एउटा बैंकबाट लिन पाउने ऋणको अधिकतम सीमा ४ करोड र सबैबाट १२ करोड कायम गरेको थियो ।

यो वर्षको मौद्रिक नीतिमा ४ करोडको सीमा हटाइएको थियो । उहाँले मार्जिन ट्रेडिङ कार्यान्वयनका लागि राष्ट्र बैंकले गर्ने काम समयमा नै सम्पन्न गर्न तयार रहेको जानकारी दिनुभयो । सेयर बजारको विकासका सम्बन्धमा राष्ट्र बैंक सधैं सकारात्मक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा धितोपत्र बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यले सेयर बजार विस्तार गर्न ब्रोकरको शाखा मात्रै विस्तार गरेर नपुग्ने र सँगसँगै वित्तीय साक्षरता पनि आवश्यक रहेको बताउनुभयो । । आचार्यले ब्रोकरले खोल्ने भनेको सब ब्रोकरको लागि बोर्डले निर्देशिका संशोधन गरिरहेको जानकारी गराउनुभयो ।

त्यस्तै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रबन्धक निरञ्जय फुँयालले मार्जिन कारोबारका लागि कार्यविधिले मात्रै नपुग्ने धितोपत्र बोर्डले विनियमावली नै जारी गर्नुपर्ने बताउनुभयो । बोर्डको निर्देशनपछि नेप्सेले वैशाख १५ गते मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि जारी गरेको र यतिले मात्रै नपुग्ने उहाँको भनाइ छ ।

फुँयालले मार्जिन कारोबारका लागि सोर्स अफ फण्डको समस्या रहेको र ब्रोकरले कर्जा दिँदा उनीहरुको खर्च पनि बढ्ने बताउनुभयो । उहाँले मार्जिन कारोबार सुरु भएपछि मार्जिन र ट्रेड्रिङ खाता फरक फरक हुनुपर्ने बताउनुभयो ।
बोर्डका निमित्त कार्यकारी निर्देशक मुक्ति श्रेष्ठले मार्जिन कारोबार गर्नका लागि दुई वटा डिम्याट खाता हुनुपर्ने र त्यसले पुँजीगत लाभकर गणना गर्न सजिलो हुने बताउनुभयो ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष प्रियराज रेग्मीले मार्जिन कारोबार गर्नका लागि दुई वटा खाता खोल्न नेप्सेको सिस्टमले नदिएको गुनासो गर्नुभयो । ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले धितोपत्र बोर्डको अहिलेको ऐन, कानुनले ब्रोकर कार्यालय उपत्यका बाहिर जान समस्या भएको बताउनुभयो । बजार विस्तारका लागि ब्रोकरको शाखा विस्तार हुनुपर्ने र त्यसो गर्दा ब्रोकरको खर्च बढ्ने उहाँको भनाइ छ ।