
बैंकिङ खबर/ १४ लाख ७३ हजार ९३ ऋणीले सहुलियतपूर्ण कर्जा लिएका छन् । यसमध्ये १ करोडभन्दा माथि सहुलियत कर्जा लिने ऋणी २ हजार नाघेको नेपाल राष्ट्र बैंकले जनाएको छ। सरकारले यस्तो कर्जा २०७२ सालदेखि ५–६ प्रतिशत ब्याज अनुदानमा दिन थालेको हो।
बैंक तथा वित्तीय संस्थाले हालसम्म २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ कर्जा स्वीकृत गरेका छन्। तर यसमध्ये २ खर्ब १३ अर्ब ८८ करोड ९२ लाख रुपैयाँँ ऋण लगानीमा रहेको राष्ट्र बैंकले बताएको छ।
कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्घन गरी उत्पादन एवम् रोजगारी अभिवृद्घि गर्न, शिक्षित बेरोजगार युवाहरुलाई मुलुकभित्र रोजगारीका अवसरहरु सिर्जना गर्न, विदेशबाट फर्केका युवाहरुको विदेशमा आर्जन गरेको सिप र व्यवसायिक दक्षता उपयोग गर्दै उनीहरुलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सिप र पेशालाई आधुनिकीकरण एवम् प्रवर्द्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रुपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरुलाई उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा अध्ययनको लागि तथा भुकम्प पीडितहरुको निजी आवास निर्माणका लागि बैङ्क तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह हुने कर्जानै सहुलियतपुर्ण कर्जा हो ।
सहुलियतपुर्ण कर्जा प्राप्त गर्न नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी तथा लघुवित्त वित्तीय संस्थामा निवेदन दिनुपर्छ ।
“सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५” अनुसार प्रवाह हुने १० प्रकारका कर्जाको लागी कार्यबिधिको अनुसूची १ मा तोकिएका व्यवसाय गर्न सहुलियतपुर्ण कर्जा पाइन्छ ।
स्नातक तह उत्तीर्ण गरेका र ४० वर्ष उमेर ननाघेका युवाहरूले रु ७ लाख सम्म र माध्यमिक शिक्षा वा सो सरह उत्रिण गरेका व्यक्तिले रु ५ लाख सम्म आफ्नो शैक्षिक प्रमाणपत्रको सक्कल प्रतिको (Certificate) धितोमा व्यवसाय/उद्यम गर्नका लागि उद्यम सञ्चालन तथा कर्जा उपयोग सम्वन्धी संक्षिप्त प्रस्तावको आधारमा सहुलियतपुर्ण कर्जा पाउन सक्छन् ।
रु. दश लाखभन्दा बढीको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा र कपडा उद्योग सञ्चालनका लागि दिइने कर्जामा बाहेक अन्य सहुलियतपुर्ण कर्जामा अनिवार्य रुपमा कर्जाको बीमा गर्नुपर्छ ।




