Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुर : महिलाको संलग्नता बढ्दो

२०७९ भाद्र १२ गते


बैंकिङ खबर/ गत जेठमा बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने सुनसरी धरान उपमहानगरपालिका–१७ ठेगाना भएकी ४२ वर्षीया कविता सुब्बा र काठमाडौं बानेश्वर बस्ने सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–९ ठेगाना भएकी ३९ वर्षीया लिना श्रेष्ठ गिरी पक्राउ परिन् ।

उनीहरूमध्ये कवितालाई उच्च अदालत पाटनबाट २०७६ फागुन ६ गतेको फैसालाले उक्त मुद्दामा १५ दिन कैद र ५० लाख रूपैयाँ जरिवाना तथा लिनालाई २०७६ माघ १९ गतेको फैसालाले १५ दिन कैद र ५४ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर भएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले कवितालाई काठमाडौं कालोपुल र लिनालाई काठमाडौं नयाँवस्तीबाट पक्राउ गरेको थियो । उनीहरूले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात नभएको भनी जानीजानी पीडितलाई झुक्यानमा पारी दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसाला गरेको हो ।

यी त केहि प्रतिनिधि घटनामात्रै हुन् । तर पछिल्लो समय बैंकिङ कसुरमा महिलाहरु पक्राउ पर्ने क्रम बढ्दै गएको पाइएको छ । काठमाडौं प्रहरी परिसरमा मात्रै बैंकिङ कसुर अभियोगमा पाँच सय ६ महिलाविरुद्ध मुद्दा दर्ता भएको छ । जसमध्ये २६ पक्राउ परेका छन् । बाँकी चार सय ८० बेपत्ता छन् । उनीहरूविरुद्ध खोजीकार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।

काठमाडौं परिसरका प्रवक्ता एसपी दिनेश मैनाली पुरुषको तुलनामा बैकिङ कसुरमा महिला कम संलग्न रहे पनि यो दर बढ्दो क्रममा रहेको बताउनुहुन्छ ।प्रहरीका अनुसार यी कसुरमा संलग्न ‘इनोसेन्ट’ र ‘मास्टर माइन्ड’ दुवैखाले महिला छन् । उदाहरणका लागि कारोबार गर्ने एउटा हुन्छ, तर चेक काटिन्छ महिलाको बैंक खाताबाट । जो विशुद्ध गृहिणी हुन्छिन् । जसको कारोबारसँग कुनै संलग्नता हुँदैन । परिबन्धमा परी जेल पुगेका यस्ता धेरै घटना छन् । अर्को यस्ता अपराधमा त्यस्ता महिला संलग्न छन्, जसको पेसा नै ठगी हो । यी महिला यस्ता ‘मास्टर माइन्ड’का हुन्छन्, जसले पीडितलाई पत्तै नदिई सडकमा पु¥याउँछन् । पीडितले आफू ठगिएको त्यतिवेला थाहा पाउँछ, जतिवेला सबै रित्तिसकेको हुन्छ ।

मुलुकको सबैभन्दा ठूलो सुन्धारास्थित महिला कारागारमा पछिल्ला दिन कारागार बैकिङ कसुरसँग सम्बन्धित महिला कैदीबन्दीले भरिएका छन् । तथ्यांकअनुसार कारागारमा अहिले तीन सय ९४ महिला कैदीबन्दी छन्  । जसमध्ये ९८ बैकिङ कसुर अर्थात् ठगीसँग सम्बन्धित महिला कैदीबन्दी छन् । यो कारागारभित्र रहेका कुल महिला कैदीबन्दीको २४.८७ प्रतिशत हो । कारागार कार्यालय सुन्धाराका प्रमुख डोरेन्द्र निरौलाले महिला बन्दीगृह पछिल्ला दिन बैकिङ कसुरसँग सम्बन्धित महिलाले भरिएको बताए ।

चेक बाउन्स सरकारवादी मुद्दा

अब चेक बाउन्स भएमा प्रहरीले पक्राउ गर्न सक्ने भएको छ । सर्वोच्च अदालतले आफैले गरेको फैसलालाई उल्टाउँदै चेक बाउन्स सरकारवादी मुद्दा हुने जनाएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्णइजलासले पुरानो फैसलामा परिवर्तन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय डम्बरबहादुर शाही र कुमार रेग्मीले तीन वर्ष अगाडि चेक बाउन्स सरकारवादी मुद्दा नहुने फैसला गरेको थियो ।

३ वर्ष अगाडि सर्वोच्च अदातलले कैलालीकी निर्मला सोडारीले गणेशकुमार रावललाई चेकमार्फत दिएको १८ लाख ८५ हजार रकमको दुईवटा चेक बाउन्स भएपछि परेको मुद्दामा फैसला सुनाउदै सर्बोच्चले चेक बाउन्सको मुद्दा फौजदारी नहुने नजिर कायम गरेको थियो ।

त्यो बेला सर्वोच्च अदालतले चेक बाउन्स विनिमय अधिकारपत्र ऐन २०३४ अनुसार हुने भन्दै बैंकिङ कसुर अन्तर्गत चलाउन नमिल्ने फैसला सुनाएको थियो । बैंकिङ कसुर अनुसार चेक बाउन्सको मुद्दा नचल्दा फौजदारी मुद्दा हुने थिएन ।

सर्वोच्च अदालतको फैसलापछि महान्यायधिवक्ताको कार्यालयले पुनरावलोकनको मुद्दा (भ्याकेट) दर्ता गरेको थियो । सर्वोच्च अदालतले पुरानो फैसलालाई उल्टाएर खातामा प्रयाप्त रकम नभएपनि चेक दिएमा बैंकिङ कसुरको मुद्दा लाग्ने उल्लेख गरेको छ ।

सर्वोच्चले पुरानो फैसला त्रुटिपूर्ण रहेको भन्दै खातामा पैसा नभएमा चेक दिएमा सरकारवादी मुद्दा हुने उल्लेख गरेको हो । फैसलाको पूर्णपाठ भने आउन बाँकी रहेको छ ।

चेक बाउन्स भएपछि यसको मुद्दा बैंकिङ कसुर तथा सजाय ऐन र विनिमय अधिकारपत्र ऐन दुवै अन्तर्गत चल्न सक्छ । पछिल्लो फैसलाले दुवै अन्तर्गत चल्न सक्ने उल्लेख गरेको छ ।

 

 

 

 

Ad