Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साढे १ लाखलाई २ खर्ब ५९ अर्ब रुपैयाँ ब्याज अनुदानको सस्तो कर्जा

२०७९ भाद्र ९ गते

बैंकिङ खबर/ गत आर्थिक वर्षको असारसम्म १ लाख ४७ हजार ३ सय ९३ ऋणीले ब्याज अनुदानको सस्तो कर्जा लिएका छन् । साे अवधिमा २ खर्ब ५९ अर्ब ५५ करोड ७९ लाख रुपैयाँ बराबरको कर्जा स्वीकृत भएकोमा २ खर्ब १३ अर्ब ८९ करोड रुपैयाँको कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ६० हजार ५ सय ४५ ऋणीले १ खर्ब ३९ अर्ब २३ करोड कर्जा लिएका छन् भने महिला उद्यमशीलअन्तर्गत ८४ हजार १ महिला उद्यमीले ७१ अर्ब रुपैयाँ कर्जा सुविधा लिएका छन् । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८ सय ४७ ऋणीको ३ अर्ब ६६ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।

सरकारको निर्देशनअनुसार २०७५ कात्तिक २० मा राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जासम्बन्धी कार्यविधि जारी गरेको हो । सुरुमा यो कर्जा स्वेच्छिक थियो । बैंकले प्रवाह गर्न नमानेपछि राष्ट्र बैंकले अनिवार्य व्यवस्था गरेको थियो ।

सुरुमा कृषि तथा पशुपन्छी, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशील, दलित समुदाय व्यवसाय विकास, उच्च तथा प्राविधिक तथा व्यावसायिक शिक्षा र भूकम्पपीडितको निजी आवास निर्माण गरी ७ प्रकारका कर्जामा ब्याज अनुदान दिइँदै आएको थियो ।