Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको लगानी : कुन क्षेत्रमा कति ?(सूचीसहित)

२०७९ भाद्र ८ गते

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निक्षेप संकलन नबढेपछि पुनः सिडि रेशियो ९० प्रतिशतभन्दा माथि पुग्न थालेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार साउनमा नै तीन बैंकको सिडि रेशियो ९० प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

तथ्यांक अनुसार सेञ्चुरी बैंकको सिडि रेशियो सबैभन्दा धेरै ९१.६३ प्रतिशत पुगेको छ भने नबिल बैंक र नेपाल बैंकको पनि सिडि रेशियो ९० प्रतिशतभन्दा माथि छ। यस्तै अन्य ८ बैंकको पनि सिडि रेशियो ८९ प्रतिशतभन्दा धेरै छ । यी बैंकले अहिले नयाँ कर्जा लगानी गर्न सक्दैनन् ।

बैंकले प्रवाह गर्ने ऋण र संकलन गर्ने निक्षेपको अनुपात ९० प्रतिशत कायम हुनुपर्ने राष्ट्र बैंकको निर्देशन छ । यसअनुसार केही वाणिज्य बैंकहरूले तोकिएको सीमाभन्दा बढी ऋण लगानी गरिसकेका छन् । अहिले वाणिज्य बैंकहरु ऋण प्रवाह गर्न नसक्ने अवस्थामा छन्।

लगानीयोग्य रकम नहुनुमा बैंकमा कर्जा माग तीव्ररुपले बढ्नु पनि हो । राष्ट्र बैंकका अनुसार चार दिन अघिसम्म बैंकहरूको निक्षेप ५० खर्ब ३४ अर्ब रुपैयाँ थियो । अहिले ५० खर्ब २३ अर्बमा आइपुगेको छ । त्यस्तै कर्जा प्रवाह चार दिन अघिसम्म ४७ खर्ब देखिएकोमा अहिले ४७ खर्ब १ अर्ब पुगेको छ ।

गत आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने वाणिज्य बैंकहरूको कर्जा प्रवाह १२.७ प्रतिशतले, विकास बैंकहरूको कर्जा प्रवाह १३.९ प्रतिशतले र वित्त कम्पनीहरूको २९.८ प्रतिशतले बढेको छ ।

२०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये ६६.४ प्रतिशत कर्जा घरजग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ असार मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.१ प्रतिशत र १२.७ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा बैंक तथा वित्तीय संस्थाहरूको कृषि क्षेत्रतर्फको कर्जा १९.७ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १५.७ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १३.३ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ८.७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित आवधिक कर्जा २८.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.३ प्रतिशतले, डिमान्ड तथा चालु पूँजी कर्जा १५.२ प्रतिशतले र रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १७.५ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ६१.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा २४.३ प्रतिशतले र हायर पर्चेज कर्जा २.२ प्रतिशतले घटेको देखिएको छ ।

अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष (असार मसान्त)मा झण्डै ५ सय प्रतिशतले लगानी बढेको छ ।
गत आर्थिक वर्षमा ४७ खर्ब ९ अर्ब ३० करोड कुल ऋण लगानी भएको छ । त्यसमा अधिकांश रकम उपभोग्य क्षेत्रमा लगानी भएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनअनुसार उपभोग्य क्षेत्रमा आधाभन्दा धेरै लगानी भएको देखिएको छ ।

कन्जुमर लोनकै शीर्षक जस्तो सुन चाँदी, फिक्स एसी रिसिप्ट, ग्यारेन्टी बण्ड, निजी सवारी, शैक्षिक खर्च, व्यक्तिगत खर्चलगायतमा ८ खर्ब ६७ अर्ब ऋण लगानी गरेको छ । उपभोग्य क्षेत्र नै बढी रुपमा जोडिने होलसेल तथा रिटेल व्यवसायमा ९ खर्ब ४७ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

कुन क्षेत्रमा कति लगानी ?

  • कृषि : ३.८८ खर्ब
  • उपभोग्य क्षेत्र : ८ खर्ब ६७ अर्ब
  • फाइनान्स तथा बीमा : ३ खर्ब ७५ अर्ब
  • सेवा क्षेत्र : ३ खर्ब ९३ अर्ब
  • खानी उत्खनन : ८.७८ अर्ब
  • उत्पादन क्षेत्र : ६.९५ खर्ब
  • निर्माण : १.९० खर्ब
  • मेटल उत्पादन, मेसिनरी तथा विद्युत उपकरण : ७२ अर्ब
  • यातायात इक्विपमेन्ट : ५५ अर्ब
  • यातायात, सञ्चार क्षेत्र : २ खर्ब ९२
  • होलसेल तथा रिटेल : ९ खर्ब ४७ अर्ब 
  • स्थानीय सरकार : १५ करोड
  • अन्य क्षेत्र : ७ खर्ब २७ अर्ब