August 14th, 2022

शेयर बाँडफाँड प्रस्तावमा असहमति जनाउँदै तोडफोड

बैंकिङ खबर/साञ्जेन जलविद्युत् कम्पनीले आयोजना प्रभावित रसुवाका बासिन्दालाई बाँडफाँड प्रस्ताव गरेको शेयरप्रति असहमति जनाउँदै प्रभावितहरूले तोडफोड गरेका छन्।
आमाछोदिङ्ग गाउँपालिकास्थित चिलिमेमा रहेको स्थानीय कार्यालयमा आइतबार दिउँसो तोडफोड, आगजनी गरेका हुन् ।

गत्लाङ क्षेत्रका ४०/५० जना स्थानीय बासिन्दाले आफूहरूलाई अति प्रभावितको सूचीमा राखेर शेयर निष्कासन गरिनुपर्ने माग राखेर कार्यालय तोडफोड गरेका हुन्। कार्यालयभित्र कर्मचारी कक्ष, सवारी साधन लगायतका संरचनामा तोडफोड गरिएको छ।

४२.५ र १४.८ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको कम्पनीले भदौ ५ गतेदेखि स्थानीय बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्दै छ। यो शेयरमध्ये अतिप्रभावित चिलिमे क्षेत्रका स्थानीय बासिन्दाका लागि सर्वाधिक धेरै छुट्याइएको छ। अतिप्रभावित, प्रभावित, सामान्य प्रभावित र बाँकी जिल्लाबासीका लागि शेयर अनुपात ४.५:३:१.५:१ कायम गरिएको छ। आफूहरूले कम शेयर स्वामित्व पाउन लागेको भन्दै गत्लाङ क्षेत्रका युवाले साञ्जेनको कार्यालयमा आक्रमण गरेका हुन्।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]