
बैंकिङ खबर/ नेपालको बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजी (तरलता) अभावको संकट टार्न वाणिज्य बैंकहरुले विदेशी बैंकबाट रकम भित्र्याउन थालेका छन् ।
तरलता अभाव कम गर्न मुलुकबाहिरबाट विदेशी मुद्रामा ऋण लिन पाउने व्यवस्था छ । सोही अनुसार वाणिज्य बैंकहरुले लगानीयोग्य रकमको अभाव भएको भन्दै केही बैंकले विदेशबाट ऋण भित्र्याइ सकेका छन् भने केहि बैंकहरु भित्र्याउने तयारीमा रहेका छन् ।
गएको हप्ता मात्र नेपालमा दुई बैंकले आईएफसीबाट रकम भित्र्याएका छन् । आईएफसीले सानिमा बैंकलाई २ करोड अमेरिकी डलर र मुलुकको अर्को प्रमुख वाणिज्य बैंक एनएमबी बैंक लिमिटेडलाई २ करोड ५० लाख अमेरिकी डलर प्रदान गरेको हो ।

पछिल्लो चार वर्षमा एनएमबी बैंकमा आईएफसीको यो तेस्रो लगानी हो । यी लगानीले बैंकहरूलाई ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै सयौं एसएमईलाई लगानी गर्न र हजारौं रोजगारी सिर्जना गर्न सहज तुल्याउनेछ ।
नेपालजस्ता अर्थतन्त्रले व्यापार वित्त (ट्रेड फाइनान्स) को अभाव सामना गरिरहेको छ, तसर्थ आईएफसीले सम्पत्तिका आधारमा नेपालकै दोस्रो ठूलो वाणिज्य बैंक ग्लोबल आईएमई बैंक लिमिटेडलाई ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत सहयोग प्रदान गरिरहेको छ ।
‘एसएमईमा बैंकको विद्यमान लगानी ढाँचा अझै पनि कर्जासम्बन्धी लामा प्रक्रिया तथा धितो आवश्यकतामा आधारित छन्,’ आईएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गले भने, ‘यस परिदृश्यमा, देशका प्रमुख वित्तीय संस्थाहरूलाई आईफसीको सहयोगले साना व्यवसायको इकोसिस्टम सुदृढीकरणका साथै रोजगारी सिर्जना र अर्थतन्त्र पुनरुत्थानमा योगदान पुग्नेछ ।’
नेपाल आईएफसीको प्राथमिकता प्राप्त देश हो । नेपालमा आईएफसीको पहल समावेशीता अभिवृद्धि तथा दिगो आर्थिक विकास केन्द्रीत छ, जसमा उर्जा र पूर्वाधार विकासका साथै कोभिड–१९ महामारीका प्रभावसँग जुझ्नका लागि सहयोग समावेश छ ।
नेपालमा आईएफसीले सन् १९७५ देखि सबैभन्दा आवश्यकताका ठाउँमा लगानी गरी अवसर सिर्जना गर्दै आएको छ । सन् २०२२ को जुन महिनासम्म नेपालमा आईएफसीको बक्यौता लगानी (फोर्टफोलियो) ६० करोड अमेरिकी डलर रहेको छ ।
एनएमबि बैंक लिमिटेडले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेस्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंक लिमिटेडका प्रमख कार्यकारी अधिकत सनिल के सी र इन्टरनेशनल फाइनान्स कर्पोरेसनको दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आङ्गबीच उक्त समझदारी आदानप्रदान भएको हो ।

यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने एनएमबी बैंकले जनाएको छ। एनएमबि बैंक चार वर्षको अवधिमा आईएफसीबाट लगातार तीन पटक कर्जा प्राप्त गर्ने नेपालको एकमात्र बैक भएको छ ।
यस्तै, वि.स.२०७६ माघमा माछापुच्छ्रे बैंकले १ अर्ब रुपैयाँ(अमेरिकी डलर १० मिलियन) बढी रकम ल्यायो । बैंकले दुवई स्थित माश्रिक बैंकबाट सो रकम ल्याएको हो ।
यस्तै, वि.स. २०७६ फागुनमा मेगा बैंकले २ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर२ करोड) वैदेशिक ऋण ल्यायो । बैंकले कतारको दोहा बैंकबाट विदेशी मुद्रा नेपालमा ल्याएको हो ।
यस्तै, वि.स.२०७७ असारमा लक्ष्मी बैंकले २ अर्ब ४३ करोड रुपैयाँ (अमेरिकन डलर २० मिलियन) वैदेशिक मुद्रामा ऋण ल्यायो । बैंकले दोहा बैंक, दुबईबाट ३ वर्षका लागि सो रकम बराबरको विदेशी ऋण ल्याएको हो ।
यस्तै, वि.स. २०७८ मंसिरमा ग्लोबल आइएमई बैंकले ३ अर्ब रुपैयाँ (अमेरिकी डलर २५ मिलियन) ऋण ल्यायो । बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट विदेशी मुद्रा ल्याएको बताएको छ । ग्लोबल आइएमईले आईएफसीबाट पनि २अर्ब २० करोड नेपाली रुपैयाँ ( अमेरिकन डलर २ करोड) विदेशी ऋण ल्याएको छ ।
यस्तै, सनराइज बैंकलेगतअसारमा २ अर्ब ३७ करोड रुपैयाँ (अमेरिकी डलर १ करोड ८६ लाख) को वैदेशिक ऋण भित्र्यायो । बैंकले जेनेभाको सिम्बायोटिक्स एसएबाट ३ वर्षको लागिसो बराबरको विदेशी ऋण भित्र्याएको हो । यस्तै, एभरेष्ट बैंकले कतारको दोहाबैंकबाट २० मिलियन डलर विदेशी ऋण ल्याएको बैंकले जनाएको छ ।
वित्तीय क्षेत्रमा आईएफसीको साढे ४ करोड डलर लगानी
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले सन् २०२३ सम्म नेपालको ३० हजारभन्दा धेरै साना–मझौला व्यवसाय (एसएमई)माझ पुग्ने बृहत् रणनीति लिएको छ ।
आईएफसीले नेपालमा साना व्यवसाय र आम मानिसहरूमा वित्तीय पहुँच थप सुदृढ पार्न वित्तीय क्षेत्रमा लगानी गर्ने भएको हो ।
आईएफसीको यो कदमले मुलुकको वित्तीय क्षेत्रमा समावेशीता, प्रतिस्पर्धी क्षमता तथा स्थायित्व (दिगोपना)मा सुधारका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ । आईएफसीले पुनरुत्थान हुँदै गरेको मुलुकको वित्तीय क्षेत्रमा ४ करोड ५० लाख अमेरिकी डलर लगानी गर्न लागेको हो ।
आईएफसीले भनेको छ, ‘भुक्तानी प्रणाली सुधार तथा ‘साइकोमेट्रिक स्कोरिङ सोलुसन’जस्ता वित्तीय उपकरण तथा सेवाहरूको ठूलो दायरालाई प्रोत्साहन गर्ने लक्ष्य फराकिलो एसएमई रणनीतिको महत्वपूर्ण अङ्ग हो ।’
आईएफसीले ‘ग्लोबल ट्रेड फाइनान्स प्रोग्राम’ अन्तर्गत व्यापार वित्त सुविधा (ट्रेड फाइनान्सिङ फेसेलिटी) पनि प्रदान गर्नलागेको जनाएको छ ।
यसमा हरित व्यापार वित्तीयकरणको विशेष प्रावधान समावेश गरिएको छ । यो विश्वव्यापी रूपमा नै आईएफसीको पहिलो हरित वैश्विक व्यापार वित्तीयकरण कार्यक्रम हो ।
‘कोभिड–१९ महामारीले नेपाली अर्थतन्त्रको प्रमुख खम्बा साना र मझौला आकारका उद्यम/व्यवसायमा ठूलो प्रभाव पारेको छ । यी व्यवसायलाई तुरुन्तै ध्यान दिन आवश्यक रहेकोमा आईएफसीको लगानीले एसएमईमा कर्जा प्रवाह सम्भाव्य र दिगो हुन्छ भनेर देखाउन मद्दत पुग्नेछ । यसले समग्र बैंक कर्जामा वृद्धि हुने दिशातर्फ अग्रसर गराउँदै एसएमईको विस्तारमार्फत् नेपालको पुनरुत्थानलाई तीव्रता दिनेछ भन्नेमा हामी आशावादी छौँ’, वित्तीय संस्था समूहका लागि आईएफसीका क्षेत्रीय उद्योग निर्देशक एलेन फर्लेमुले भन्नुभयो ।
एसएमईहरू नेपालको अर्थतन्त्रमा आर्थिक वृद्धिको इन्जिन हुन्, यिनीहरूले १८ लाख मानिसलाई रोजगारी प्रदान गर्नुका साथै कुल गार्हस्थ उत्पादन (जीडीपी)मा २२ प्रतिशत योगदान गर्ने आईएफसीले जनाएको छ ।
‘अझै पनि ४४ प्रतिशत एसएमईहरूका लागि वित्तीय पहुँच प्रमुख अवरोध रहेको छ; खासगरी दुर्गम क्षेत्रमा रहेका साना र महिलाको स्वामित्वका कम्पनीहरूमा २.९ अर्ब अमेरिकी डलर बराबरको वित्तीय खाडल रहेको अनुमान गरिएको छ’, आईएफसीले भनेको छ, ‘सीमित वित्तीय सुविधाका कारण नेपालका साना व्यवसायीहरू नगदमा आधारित भएर सञ्चालित छन् । परिणामस्वरूप, आवश्यक लगानी र उपलब्ध वित्तीय पहुँचको ठूलो खाडलमा उनीहरू विस्तार हुन संघर्षरत छन्।’




