Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आधारदर दोहोरो अंकले बढेसँगै महंगियो कर्जाको ब्याजदर

२०७९ श्रावण २४ गते

बैंकिङ खबर/ आधारदर दोहोरो अंकले बढेसँगै कर्जाको ब्याजदर महंगिएको छ । गत वर्ष सरदर ७ प्रतिशत रहेको बैंकिङ आधारदर (बेसरेट) चालु आर्थिक वर्षको सुरुवातमै दोहोरो अंकले बढेको छ ।

कूल २६ वटा वाणिज्य बैंकहरूमध्ये आधाआधी बैंकहरुको बेसरेट १० प्रतिशत हारहारी पुगेको छ । जसमध्ये चार वटा बैंकको १० प्रतिशत माथि नै रहेको छ । कुमारी बैंक, सिभिल बैंक, सेन्चुरी कमर्सियल बैंक र सनराइज बैंकको आधार दर १० प्रतिशत माथि पुगेको छ । यी बैंकहरुको आधार दर १०.०१ प्रतिशतदेखि १०.५७ प्रतिशतसम्म पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त निक्षेपमा तिरेको ब्याज, सञ्चालन तथा व्यवस्थापन खर्च, जोखिम भार तथा अनिवार्य नगद मौज्दात (सीआरआर) समेतलाई जोडेर औसत लागतको रुपमा बेसरेट कायम गरेका हुन्छन् । सोही औषत बेसरेटमा थप २ देखि ४–५ प्रतिशतसम्म प्रिमियम थपेर बैंकहरुले कर्जाको ब्याजदर कायम गर्छन् । तर, बैंकहरुको बेसरेट नै महँगो भएपछि स्वतः कर्जाको ब्याजदरसमेत बढ्ने गर्छ ।

हाल कायम बैंकहरुको बेसरेट हेर्दा सबैभन्दा महंगो कुमारी बैंकको देखिएको छ । बैंकले अधिकतम १०.५७ प्रतिशत बेसरेट कायम गरेको छ । यसो हुँदा बैंकले प्रदान गर्ने कर्जामा न्यूनतम २ प्रतिशत मात्र प्रिमियम थप गर्ने हो भने पनि ब्याजदर १२.५७ प्रतिशत पुग्ने देखिन्छ । तर, अहिले तरलता अभावलाई देखाएर बैंकहरुले ४–५ प्रतिशतसम्म प्रिमियम थपिरहेका छन् । यसो हुँदा बैंकको अन्तिम ब्याजदर १५.५७ प्रतिशतसम्म पुग्ने देखिन्छ ।

यस्तै, सिभिल बैंकको बेसरेट अघिल्लो वर्षको तुलनामा २.६३ प्रतिशतले बढेर १०.४६ प्रतिशत पुगेको छ । सेन्चुरी बैंकको १०.२३ प्रतिशत तथा सनराइज बैंक र मेगा बैंकको समान १०.०१ प्रतिशत बेसरेट रहेको छ ।

तीन वटा सरकारी बैंकसहित ६ वटा वाणिज्य बैंकहरुको बेसरेट भने ९ प्रतिशत तल रहेको छ । बैंकहरुले कायम गरेका बेसरेट अनुसार सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को बेसरेट ७.८६ प्रतिशत मात्र रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासका लागि स्प्रेडरेट समेत ४.२९ प्रतिशत मात्र कायम गरेको बैंकले कर्जाको ब्याजदर अधिकतम १२ प्रतिशत कायम गरेको छ ।  यस्तै, ७.९९ प्रतिशत बेसरेट कायम गरेको अर्को सरकारी बैंक ‘नेपाल बैंक’ले ४.०८ प्रतिशत स्प्रेडरेट तोकेको छ । तर, कृषि विकास बैंकले भने ८.९० प्रतिशत बेसरेट र ४.३७ प्रतिशत स्प्रेडरेट कायम गरेको छ ।

नबिल बैंकले ८.७७ प्रतिशत बेसरेटसँगै ४.२२ प्रतिशत स्प्रेडरेट कायम गरेको छ । निजी बैंकतर्फको यो सबैभन्दा सस्तो हो । यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ८.८१ प्रतिशत बेसरेट र ४.२३ प्रतिशत स्प्रेडरेट र एभरेष्ट बैंकले ८.८२ प्रतिशत बेसरेट र ४.०६ प्रतिशत स्प्रेडरेट कायम गरेका छन् । अन्य, १३ वटा बैंकहरुले ९ प्रतिशतदेखि १० प्रतिशतको बीचमा बेसरेट कायम गरेका छन् ।

के हो आधार दर र प्रिमियम दर ?

नेपाल राष्ट्र बैंक अहिले ऋणको व्याजदरमा प्रिमियम तोक्ने तयारीमा छ । कुनै पनि बैंकले व्याजमा ग्राहक ठग्न नपाउन् भनेर प्रिमियम तोक्न लागिएको हो । प्रिमियम भनेको के हो त ? यस अघि नै बैंक वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले ऋणको ब्याज दर निर्धारण गर्नेगरी आधार दर तोकेको छ ।

आधार दरमा केही प्रिमियम जोडेर बैंकका ऋणीसँग व्याज निर्धारण गरेर बैंकहरुले व्याज तय गर्दे आएका छन् । तर बैंक तथा वित्तीय संस्थाहरुले प्रिमियम धेरै लिएर व्याज चर्को बनाउने गरेको तत्थ्य एनआईसी एसिया बैंकको पछिल्लो घटनाक्रमले देखायो । सो बैंकको चर्को व्याजले ग्राहकहरु त्रसित भए । सो बैंकले लिएको व्याज कल्पना भन्दा बाहिर गयो । सुरुमा कम व्याज लिने र पछि चर्को व्याज लिने तिर्न नसके सम्पति लिलाम गर्ने बैंकको रणनीति देखियो । जसकारण प्रिमियम तोक्ने तयारीमा राष्ट्र बैंक लागेको हो ।

अब आधार दरमा थपीने प्रिमियम पनि केन्द्रीय बैंकले निर्धारण गर्ने छ । आधार दरमा थपीने प्रिमियमपछि बैंकबाट कर्जा निकाल्ने ऋणीको ब्याज बैंकले चर्को गर्न पाउँदैन । कुनै बैंकको आधार दर ६ प्रतिशत छ भने बैंकले ग्राहक र जोखिम अनुसार प्रिमियम लिन पाउने व्यबस्था छ । जसमा आधार दर ६ हुँदा ५ प्रतिशत प्रिमियम जोड्दा ११ प्रतिशत हुन्छ । हाल राष्ट« बेंकले प्रिमियम ५ प्रतिशत तोक्ने तयारी गरेको छ । यसअघि बैंकहरुलाई प्रिमियम दर तोकिएको थिएन । आधारदर मात्रै तोकिएको थियो । आधारदर ७ रहँदा प्रिमियम धेरै जोडेर बैंकले व्याज लिने नयाँ बाटो बनाएको भन्दै राष्ट्र बैंकले प्रिमियम दर तोक्ने तयारी गरेको छ ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार नै आधार दर अर्थात बेस रेट हो । बेस रेटमा बैंकहरुले प्रिमियम थपेर ब्याजदर तोक्न पाउँछन् । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई कर्जा प्रवाह गर्दा कर्जाको ब्याजदर निर्धारण गर्नु पर्दछ । आधार दर भन्दा बढी कुनै पनि बैंक तथा बित्तीय संस्था ले ब्याजदर लिन पाउंदैनन् । कर्जाको ब्याजदर आधार दर अर्थात बेस रेट मा लिङ्क गरेको हुन्छ । आधार दर जहिले पनि तीन तीन महिनामा घट,बढ हुने गर्दछ । आधार दर कर्जा प्रवाहको वास्तविक ब्याजदर नभई ब्याजदर निर्धारण गर्ने आधार मात्र हो ।

बेसरेट आजको आजै तल माथि हुदैन । जतिबेला बजारमा तरलताको अभाव हुन्छ त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ को ब्याज दर बढ्छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ यदी ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने हुन्छ ।

बेसरेट गणना गर्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन् । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट Cost Of Fund  हो । Cost Of Fund भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ र बेस रेट तल झर्छ । त्यस्तो हुंदा कर्जाको ब्याजदर पनि स्वतः घट्छ ।