August 9th, 2022

बैंकहरूको निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून

बैंकिङ खबर/ वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात घटेको पाइएको छ । गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूको कुल कर्जामा निष्क्रिय कर्जाको अनुपात सात वर्षयताकै न्यून देखिएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार आर्थिक वर्ष ०७७/७८ मा १.२५ प्रतिशत रहेको निष्क्रिय कर्जाको अनुपात गत आर्थिक वर्षमा औसतमा १.१५ प्रतिशत सीमित भएको छ ।

पुनर्तालिकीकरण/पुनर्संरचना गरेका, कमसल, शंकास्पद तथा खराब कर्जा नै निष्क्रिय कर्जा हो ।

सन् २०२० मा अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले कर्जा नवीकरणको गलत अभ्यासले जोखिम बढाइरहेको निष्कर्ष निकालेको थियो । कर्जा विस्तार कुल गार्हस्थ्य उत्पादन (जिडिपी)कै हाराहारी पुग्न लागेको अवस्थामा निष्क्रिय कर्जाको अनुपात न्यून रहनुलाई आइएमएफले अस्वाभाविक मानेको थियो । विश्व बैंकको तथ्यांकअनुसार सात वर्षअघि मात्रै निष्क्रिय कर्जाको अनुपात १.७ प्रतिशत थियो । आइएमएफकै तथ्यलाई आधार लिने हो भने त्यसअघि यस्तो अनुपात २ प्रतिशतभन्दा बढी नै देखिन्छ ।

बैंकहरूले गत आर्थिक वर्षमा खुद नाफा ७४ अर्ब ८० करोड रुपैयाँ र वितरणयोग्य नाफा ५९ अर्ब ३२ करोड रुपैयाँ पुगेको देखाएका छन् । गत आवसम्म बैंकहरूको कुल कर्जा ४१ खर्ब ७५ अर्ब रहेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ ।

  • आर्थिक वर्ष ०७१/७२ – १.६८ प्रतिशत
  • आर्थिक वर्ष ०७२/७३ – १.७० प्रतिशत
  • आर्थिक वर्ष ०७३/७४ – १.५६ प्रतिशत
  •  आर्थिक वर्ष ०७४/७५ – १.६६ प्रतिशत
  •  आर्थिक वर्ष ०७५/७६ – १.६८ प्रतिशत
  •  आर्थिक वर्ष ०७६/७७ – १.२५ प्रतिशत
  •  आर्थिक वर्ष ०७७/७८ – १.१५ प्रतिशत

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]