२०७३ आश्विन १३ गते

कामना र कुमारीको सेयर कारोबार खुल्यो

nepseएनसीसी बैंकसँग मर्ज प्रक्रिया तोडेर आएको कुमारी बैंकको सेयर कारोबार बिहीबारदेखि खुलेको छ । कुमारीको गत बर्ष बितरण गरेको ११ प्रतिशत बोनस सेयर समायोजन गरेर प्रतिकित्ता न्युनतम मूल्य ३४७ रुपैयाँ कायम भएको छ । नेपाल राष्ट्र बैंकले कुमारीको सेयर कारोबार खोल्न नेप्सेलाई पत्र लेखेपछि नेप्सेले कारोबार खोलेको हो । कुमारीको आधार मूल्य भने ३७४ तोकिएको नेप्सेले जनाएको छ ।

२ अर्ब ६९ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकले एनसीसीसँग मर्जर प्रकृया तोडे पछि ५० प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव गरेको छ । अहिलेको चुक्ता पूँजीमा ५० प्रतिशत हकप्रद निष्काशन गर्दा उसको चुक्ता पूँजी ४ अर्ब ३ करोड रुपैंया नाघ्ने छ । बैंकले गत आर्थिक वर्षमा ७४ करोड बढी खुद नाफा गरेको छ । बैंकले उक्त कमाईबाट लगानीकर्तालाई दिने प्रतिफल भने प्रस्ताव गर्न बाँकी छ ।

कामना विकास बैंकको पनि खुल्यो कारोबार
कामना विकास बैंकको सेयर कारोबार पनि विहीबारदेखि खुलेको छ । कास्की फाइनान्स लिमिटेड र कामना विकास बैंक मर्जर भई राष्ट्रियस्तरको विकास बैंकको रुपमा कामनाले कारोबार सुरु गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कामनाको केएमबिएल संकेतमा कारोबार हुनेछ । अघिल्लो बर्ष कामना विकास बैंकले दिएको २२.६ प्रतिशत बोनस समायोजन पश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता २६९ रुपैयाँ तोकिएको छ । जसको आधारमूल्य २१३ रुपैयाँ रहेको छ । मर्जरमा जानुअघि कामनाको सेयरमूल्य प्रतिकित्ता ३३० रुपैयाँ रहेको थियो भने कास्की फाइनान्सको प्रतिकित्ता २२७ रुपैयाँ थियो ।

मर्जपछि बैंकको चुक्ता पुँजी ६६ करोड १६ लाख रुपैयाँ रहेको छ । बैंकले गत आर्थिक वर्षमा १७ करोड ११ लाख ८० हजार रुपैंया खुद नाफा कमाएको थियो । बैंकले गतबर्षको मुनाफबाबाट बोनस घोषणा गरेको छैन ।