टोलराज उपाध्याय
उप-रजिष्ट्रार एवम् सूचना अधिकारी
सहकारी विभाग
बैंकिङ खबर/ सहकारीहरु आफ्ना सदस्य तथा समुदायप्रति केन्द्रित हुन्छन् । सदस्यहरुबाट नै नियन्त्रित हुने भएकाले सहकारीहरु स्व:नियम र प्रजातान्त्रिक विधिबाट चल्नुपर्ने हुन्छ । पछिल्लो समय सहकारीहरुको संख्या वृद्धि भइरहेको छ । संख्या बढ्दा उनीहरुले गर्ने कारोबार रकम पनि बढेको छ । जसले गर्दा उनीहरुले आफ्ना उद्देश्यहरुलाई पनि फरक तवरबाट अगाडि बढाउन थालेका छन् । सहकारीक्षेत्रमा देखिएका समस्या समाधान गर्न अथवा समस्या सृजना हुन नदिन केही विषयहरु छन् । जुन विषयहरुलाई अबलम्बन गर्न सकेमा यसलाई निराकरण गर्न सकिन्छ ।
सक्रिय सहभागिता
सहकारीका सञ्चालकहरु अत्याधिक महत्वकांक्षी हुँदा समस्या देखिन थालेको हो । त्यस्तो समस्या आउन नदिन सहकारीका सदस्यहरुले केही विषयहरुलाई ध्यान दिन सक्नुपर्दछ । सहकारीका सेयर सहस्यहरुले संस्थाको नियमित बैठक र साधारणसभामा सक्रिय सहभागिता जनाउनुपर्छ । त्यसो गर्नाले संस्थाका सम्पूर्ण गतिविधिहरुबारे जानकार भइन्छ । संस्थाका गतिविधिहरुबारे जानकारी राख्नु तपाईको अधिकार मात्र होइन, त्यसले तपाईलाई संस्थाप्रति उत्तरदायी पनि बनाउँछ ।
सञ्चालकहरु महत्वकांक्षी बन्नु हुँदैन
सहकारीका सञ्चालकहरु आफ्नो सिद्धान्त र समुदाय केन्द्रित भएर काम गर्नुपर्ने हुन्छ । सञ्चालक तथा व्यवस्थापकको भूमिका महत्वकांक्षी हुँदा अथवा उनीहरुले सहकारीको नीतिभन्दा बाहिरको ट्रयाकबाट यात्रा तय गर्दा सहकारीमा समस्या देखिन्छ ।
सहकारीका सञ्चालक र व्यवस्थापकले सहकारीको सिद्धन्तभित्र रहेर समुदाय केन्द्रित र उद्देश्य केन्द्रित काम गर्नुपर्दछ । यसले गर्दा संस्थालाई अगाडि बढाउन सजिलो हुन्छ । महत्वकांक्षी र चाँडै धनी बन्ने सपनाले संस्थामा आँच आउन सक्दछ ।
नियमनमा कडाई
सहकारी विभागले समय–समयमा निर्देशनहरु जारी गर्दछ । ती निर्देशनहरुलाई सहकारीले अवलम्बन गरेर अगाडि बढ्नुपर्दछ । विभागले तयार पारेको ‘कोपोमीस सिस्टम’ मा सहकारीका तथ्याङ्क ल्याउने, त्यसको विश्लेषण गर्ने र मार्ग देखाउने काम गर्दछ ।
त्यसको पनि सहकारीहरुले कार्यान्वयन गर्नुपर्दछ । साथै उजुरी गुनासोका आधारमा सघन अनुगमन गर्ने र निर्देशन दिने विभागले गर्ने गरेको छ । दिएको निर्देशन अनुसारको कार्यप्रगतिको बारेमा जानकारी लिने काम विभागले गरिरहेको हुन्छ ।
सञ्चारको निगरानी
सहकारीहरुले के–के गर्दैछन्, कसरी अगाडि बढिरहेका छन्, सिद्धान्तभन्दा बाहिरको यात्रामा अग्रसर देखिएका छन् कि त्यो तर्फ सञ्चार जगतले पनि निगरानी गर्नुपर्दछ । समस्या देखिए मात्र मिडियाले चासो दिने गरेको पाइन्छ तर, समस्या सृजना हुन नदिनुपनि मिडियाको कर्तव्य हो, त्यो भूमिका सञ्चार माध्यमले खेल्नुपर्दछ ।
साथै समाजसेवी, प्रभुत्व व्यक्तिलगायतका भूमिका प्रभावकारी बन्न सकेमात्र सहकारीहरु ऐन नियमानुसार अगाडि बढ्छन् । यसमा सहकारी विभागले खेल्ने भूमिका पनि विशेष रहन्छ । सहकारीलाई नीति र कानूनमार्फत कसरी सहजीकरण गर्ने भन्ने विषयमा विभाग क्रियाशील छ, आगामी दिनमा पनि क्रियाशील रहन्छ ।