२०७३ आश्विन १२ गते

बुधबार पनि ओरालै गतिमा सेयर बजार : १७४९ अंकमा परिसूचक

Stock price decliningबुधबार पनि सेयर बजार घटेको छ । परिसूचक ४.६२ अंकले घटेर १७४९.१० अंकमा कायम हुँदा पौने एक अर्बको कारोबार भएको छ । एक सय ३६ वटा कम्पनीको ११ लाख १० हजार तीन सय ४५ कित्ता सेयर चार हजार दुई सय ७० पटक खरिद विक्रि हुँदा कुल ७५ करोड ३४ लाख १५ हजार पाँच सय ५४ रुपैयाँ बराबरको पुँजी परिचालन भएको हो । उत्पादनमूलक र अन्य समूहबाहेक बुधबार कारोबार भएका सबै समूहहरु घटेका छन् । सबैभन्दा धेरै बीमा समूह ७८.३१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत् र फाइनान्स क्रमशः २.७१, १४.७८, ६.३, १.५७ र ०.४७ अंकले घटेका छन् । उत्पादनमूलक र अन्य भने क्रमशः ११.०२ र ०.५८ अंकले बढेका छन् । 

कारोबार रकमका आधारमा बुधबार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी अग्रस्थानमा छ, जसको ११ करोड ९३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । एनबी बैंकको सवा आठ करोड, सानिमा बैंकको पाँच करोड र सिद्धार्थ बैंकको तीन करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । शिखर इन्स्योरेन्स र एभरेष्ट बैंकको पनि तीन करोडमाथिको कारोबार भएको छ । सनराइज बैंकको साढे दुई करोडमाथिको कारोबार भएको छ । शिखर इन्स्योरेन्सको प्रोमोटरको पनि दुई करोडमाथिको कारोबार भएको छ । चिलिमे हाइड्रो र एनएमबी बैंकको एक करोडमाथिको कारोबार भएको छ । 

मर्जरपछि बुधबारदेखि नै कारोबार खुलेको बैंक अफ काठमाण्डू लुम्बिनीका लगानीकर्ताले सबैभन्दा धेरै ९.९१ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । ज्योति विकास बैंकका लगानीकर्ताले ९.७८ प्रतिशतका दरले कमाउँदा मनास्लु विकास बैंक र ङादी पावर ग्रुपका लगानीकर्ताले क्रमशः ७.९९ र ७.३२ प्रतिशतका दरले कमाएका छन् । जनउत्थान सामुदायिक लघुवित्त, एनबी इन्स्योरेन्स, आईसीएफसी फाइनान्स लगायतका लगानीकर्ताले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको जेविल्स फाइनान्सका लगानीकर्ताले साढे ७ प्रतिशतभन्दा बढीले गुमाउँदा प्रोग्रसिभ फाइनान्सका लगानीकर्ताले पनि सात प्रतिशतभन्दा बढीले गुमाएका छन् । बोटलर्स नेपाल, राप्तीभेरी विकास बैंक र समिट माइक्रोफाइनान्सका लगानीकर्ताले पाँच प्रतिशतभन्दा बढीले गुमाएका छन् । कालिका माइक्रोक्रेडिट, किसान माइक्रोफाइनान्स, सांग्रीला डेभलपमेन्ट बैंक, गुडविल फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लगायतका लगानीकर्ताले पनि गुमाएका छन् ।