Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

साइपालमा अझै पुगेन बैंक, बैंकिङ कारोबारकै लागि ४ दिनको यात्रा !

२०७९ श्रावण ९ गते
बैङ्कमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका एक शारीरिक अशक्तता भएका व्यक्तिलाई भत्ता बुझ्न लगिँदै ।
तस्बिरः तरुणा जोशी/बझाङ

बैंकिङ खबर/ हरेक देशको समृद्धि अर्थतन्त्रसँग जोडिएको हुन्छ । हरेक नागरिकको उन्नत भविष्य पनि अर्थतन्त्रसँगै जोडिएको हुन्छ । समग्र अर्थतन्त्र मुलतः पैसाको माध्यमबाट सुचारु भएको हुन्छ । कुनै समय पैसाबिनै पनि विनिमय हुन्थ्यो होला, तर अब त्यो संसारमै सम्भव छैन । आज संसारमा पैसालाई परिचालन गर्न सक्नेहरु थोरै पैसाले पनि धेरै काम गर्न सक्षम भएका छन् ।

यस अर्थ अर्थतन्त्रको विकासमा पैसाको परिचालन महत्वपूर्ण हुन आउँछ । नेपालमा अहिले पनि विभिन्न ग्रामिण क्षेत्रमा पैसालाई सिरानीमुनी, सन्दुसमा वा कुनै दराजमा राख्ने प्रचलन कायमै छ । सुन र चाँदी मानिसले घरमै थन्क्याएको अवस्था छ ।

अर्कोतर्फ नेपालमा कतिपय ठाउँका नागरिक अझै पनि बैंकिङ पहुँचबाट टाढा छन् । बैंकिङ सेवा सुविधा लिनकै लागि उनीहरु घण्टौ यात्रा गर्न बाध्य छन् । बैंक/वित्तीय क्षेत्रमा पहुँच नहुँदा बैंकमा खाता खोलिएका छैनन् । खोलिएका खाताहरु पनि निष्क्रिय छन् । र ऋण लिने काम व्यक्तिबाट भइरहेको अवस्था छ ।

यी सबै कुरालाई बैंकिङ च्यानलमा ल्याएर बैंकसँग कारोबार गर्ने, बैंकमा पैसा जम्मा गर्ने, बैंकबाटै ऋण लिएर उद्यमशीलता हासिल गर्ने लगायतका कामहरु आवश्यक छन् । हरेक नागरिकले बैंकबारे जान्नैपर्ने हुन्छ ।
बैंकबारे नजान्दा कर्जा लिन नपाएको अवस्था र उद्यमी बन्ने रहर हुँदा हुँदै पनि विदेश पलायन हुनुपरेको अवस्था एकातिर छ भने अर्कातिर विदेशमा जानेहरुले आधिकारिक रेमिट्यान्स माध्यमबाट पैसा नपठाई हुण्डीबाट पैसा पठाउँदा पैसा हराउने र राज्यमाथि ठगी गर्ने कार्यहरु पनि भएका छन् । यी र यस्ता काम नहोस् भन्नका लागि बैंकिङ पहुँच हुनु जरुरी छ ।

बैंकिङ कारोबार गर्नै ४ दिनको यात्रा

साइपाल गाउँपालिकाः तस्बिरः कान्तिपुर दैनिक

नेपालमा सबै स्थानीय तहमा वाणिज्य बैंकको कम्तीमा एक शाखा विस्तार गर्ने राष्ट्र बैंकको नीति भएपनि केहि स्थानीय तहमा भने अझै बैंकिङ पहुँच पुग्न सकेको छैन । सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ जिल्लाको साइपाल गाउँपालिकामा अझै वाणिज्य बैंकको शाखा पुग्न सकेको छैन ।

साइपालमा हाल ४५० घरधुरी छन् । ३ हजार मानिस बैंकिङ पहुँचबाट टाढा छन् । साइपालमा एभरेष्ट बैंकले शाखा खोल्ने जिम्मा पाएपनि बैंकले विद्युत, इन्टरनेट, टेलिफोन र सडकलगायतको समस्याका कारण देखाउँदै शाखा खोल्न सकेको छैन ।

गाउँमा बैंक नहुँदा साइपालका बासिन्दाहरु बैंकिङ कारोबारका लागि अर्को गाउँपालिका जान बाध्य छन् । बैंकिङ कारोबारका लागि सेवाग्राही ३ देखि ४ दिन पैदल हिँडेर सदरमुकाम चैनपुर जानुपर्ने बाध्यता रहेको साइपाल गाउँपालिकाका अध्यक्ष मानबहादुर बोहरा बताउनुहुन्छ । 

राष्ट्र बैंक भन्छ, ‘वित्तीय पहुँच बढ्यो’

राष्ट्र बैंकको २०७९ असार मसान्तको तथ्यांकअनुसार वित्तीय पहुँच बढ्दै गएको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७८ असार मसान्तमा १० हजार ६८३ रहेकोमा २०७९ असार मसान्तमा ११ हजार ५२८ पुगेको छ ।

शाखा विस्तारसँगै उक्त अवधिमा प्रतिबैंक शाखा जनसंख्या २ हजार ८४४ बाट घटेर २ हजार ५३२ कायम भएको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट अब बझाङको साइपाल गाउँपालिकामा मात्रै वाणिज्य बैंकका शाखा पुग्न बाँकी रहेको बताउनुहुन्छ ।

यसअघि साइपालसहित धादिङको रुबिभ्याली गाउँपालिका र जाजरकोटको जुनीचाँदे गाउँपालिकामा वाणिज्य बैंकका शाखा पुग्न सकेका थिएनन् । असार मसान्तसम्ममा रुबिभ्याली र जुनीचाँदेमा बैंकका शाखा पुगेको प्रवक्ता भट्टले बताउनुभयो ।

‘सामाजिक सुरक्षाभत्ता घुम्ती बैंकिङ प्रणालीमार्फत गरौँ’

सामाजिक सुरक्षाभत्ता घुम्ती बैंकिङ प्रणालीमार्फत वितरण गर्न माग गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैंठकमा सांसद सत्य पहाडिले उक्त माग गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘सामाजिक सरक्षाभत्ता बैंकिङ प्रणालीमार्फत वितरण गर्ने कार्य आर्थिक सुशासन कायम गर्न सहयोग अवश्य पुग्नेछ ।

तर वृद्धाभत्ता लगायत सबै सामाजिक सुरक्षाभत्ता बुझ्नका लागि पालिकामा स्थापित बैंकका शाखाहरुसम्म पुग्नुपर्ने बाध्यताले बुहसंख्यक पालिकाहरुमा जेष्ठ नागरिक र अन्य लक्षित वर्गका जनतालाई अत्यन्त कठिन महंगो पर्न गइरहेको छ । कतिपय पालिकामा भत्ता भन्दा गाडिभाडा उच्च हुने अवस्था छ ।’ उहाँले घुम्ती बैंकिङ सेवा मार्फत सबै वडाहरुमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो ।

 

 

 

 

 

 

 

 

Ad