
बैंकिङ खबर/ प्रधानमन्त्री शेरबहादुर देउवाले विवादित गभर्नर महाप्रसाद अधिकारीका विषयमा कानूनविद्सँग परामर्श गरेर आवश्यक कदम चाल्ने बताउनुभएको छ । शनिबार बिहान नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल)ले बुझाएको ७ बुँदे ज्ञापनपत्र बुझ्दै उहाँले गर्भनरबारे के गर्ने भन्ने विषयमा कानूनविद्सँग परामर्श लिने बताउनुभयो ।
ज्ञापनत्र बुझाउन बालुवाटार पुगेको वाईसीएलको टोलीमा सहभागी माओवादी केन्द्रका केन्द्रीय सदस्य सुबोध सेर्पालीले प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै भन्नुभयो, ‘कानुनविदसँग परामर्श गरेर महाप्रसाद अधिकारी (गभर्नर) बोर निर्णय लिन्छु। उहाँका विषयमा धेरै कुरा सार्वजनिक भइरहेका छन्, कितपय कुरा छानबिन गर्नुपर्ने पनि देखिएको छ। सार्वजनिक पद धारण गरेको व्यक्ति कुनै पार्टीमा आबद्ध रहेको प्रमाण सार्वजनिक भएका छन्। यसबारेमा सरकार गम्भीर छ। आवश्यक कदम चाल्नुभन्दा अघि कानूनविदसँग परामर्श गर्छु।’ गभर्नर अधिकारी एम.अधिकारीको नाममा एमालेको अर्थ तथा योजना विभागको सदस्य बनेको चर्चा भएपछि उहाँ विवादित बन्नुभएको छ ।


