लामो समयपछि सेयर बजार सुधारिएको छ । विश्लेषक तथा सरोकारवालाहरुको अनुमानविपरीत निरन्तर ओरालो लागिरहेको सेयर बजार सोमबार भने २६.४६ अंकले बढ्दै १७५७.१० अंकमा पुगेको छ । कारोबार भएका सबै समूहहरु उकालो लागेका छन् । सबैभन्दा धेरै बीमा समूह ८७.२ अंकले बढेको छ भने सबैभन्दा कम फाइनान्स समूह ८.१४ अंकले बढेको छ । बैंकिङ समूह ३१.७६ अंकले बढ्दा होटल ५४.१६ अंकले बढेको छ भने विकास बैंक १८.२ अंकले बढेको छ । जलविद्युत् र अन्य क्रमशः २१.७३ र ९.५४ अंकले बढेका छन् ।
कारोबार रकम पनि आइतबारको तुलनामा सामान्य बढेको छ । आइतबार एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्जमा सोमबार एक अर्ब सात करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । दिनभरिमा एक सय ३२ वटा कम्पनीको ११ लाख ४१ हजार सात सय एक कित्ता सेयर पाँच हजार ८७ पटक खरिदविक्रि हुँदा कुल एक अर्ब सात करोड ६० लाख ८५ हजार नौ सय ५६ रुपैयाँ बराबरको पुँजी परिचालन भएको छ ।
एभरेष्ट बैंकमा लगानीकर्ताको सबैभन्दा धेरै आकर्षण रहेको पाइएको छ । बैंकको २२ करोड ७७ लाख रुपैयाँभन्दा माथिको सेयर कारोबार भएको छ । एनबी बैंकको झन्डै साढे १० करोड रुपैयाँको कारोबार हुँदा सिद्धार्थ बैंकको पाँच करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ भने शिखर इन्स्योरेन्सको पौने पाँच करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एसियन लाइफ इन्स्योरेन्सको प्रोमोटरको झन्डै साढे चार करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सनराइज बैंकको पनि चार करोडमााथिको कारोबार भएको छ । सानिमा बैंकको झन्डै तीन करोड रुपैयाँ बराबरको कारोबार भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स, एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्स लगायतको पनि दुई करोडमाथिको कारोबार भएको छ ।
सोमबार पनि ङादी पावर ग्रुपका लगानीकर्ताले सबैभन्दा धेरै ९.९३ प्रतिशतका दरले सम्पत्ति बढाएका छन् । राप्तीभेरी विकास बैंक, आईएलएफसीओ माइक्रोफाइनान्स र एभरेष्ट बैंक (सीपी) का लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीले कमाएका छन् । नेरुडे लघुवित्त, जेविल्स फाइनान्स र अरनिको डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीले कमाउँदा महिला सहयात्रा माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, नविल बैंक लगायतका लगानीकर्ताले पनि कमाएका छन् ।
गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको पोखरा फाइनान्सका लगानीकर्ताले ५.३६ प्रतिशतका दरले गुमाएका छन् । फस्र्ट माइक्रोफाइनान्स, नमस्ते वित्तीय संस्था, मितेरी डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी, गुडविल फाइनान्स, सिद्धार्थ इक्विटी वरियन्टेड स्किम, कृषि विकास बैंक लगायतले पनि गुमाएका छन् ।



