
बैंकिङ खबर/ नेकपा एमालेले पार्टीको अर्थ तथा योजना विभागमा रहेका सदस्य एम अधिकारी भन्ने व्यक्ति नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नभएको स्पष्टीकरण दिएको छ । एमाले पार्टी कार्यालयका सचिव डा. भीष्म अधिकारीले गभर्नरलाई नै पत्र लेख्दै यस बारे जानकारी दिनुभएको छ ।
एमालेले गभर्नरलाई पठाएको पत्रमा भनिएको छ ’उपरोक्त विषयमा तपाईको मिति २०७९-३-२९ को पत्र प्राप्त भई व्यहोरा अवगत भयो । तत् सम्बन्धमा यस पार्टीको विधान बमोजिम केन्द्रीय विभाग गठन गर्दा अर्थ तथा योजना विभागमा उल्लेखित एम, अधिकारी, खोटाङ नाम सदस्यको रुपमा उल्लेखित भएकोमा सामाजिक सन्जाल, सञ्चारमाध्यम समेतमा उक्त व्यक्ति नेपाल राष्ट्र बैंकको गभर्नर हो भनी भ्रम सिर्जना हुन गएकोमा हाम्रो पार्टीको ध्यानाकर्षण भएको छ । हाम्रो कमिटी र विभागहरुमा त्यस्ता सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था छैन । तसर्थ, उक्त विभागमा उल्लेखित एम. अधिकारी योटाड भनी उल्लेखित व्यक्ति तपाई राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी नभएको व्यहोरा स्पष्ट गर्दछु।’
त्यसअघि गभर्नर अधिकारीले नेकपा एमालेलिई पत्र लेख्दै यस विषयमा प्रष्ट पारिदिन आग्रह गर्दै पत्र लेख्नुभएको थियो । गभर्नरले एमालेलाई पठाएको पत्रमा भनिएको थियो ’त्यस पार्टीको अर्थसम्बन्धी विभाग गठन भएको र सो विभागमा एम अधिकारी (खोटाङ) सदस्य रहेको भनी सोसियल मेडिया तथा अन्य सञ्चार माध्यमबाट जानकारी भयो । उक्त नामसँग म नेपाल राष्ट्र बैंकको गभर्नर महा प्रसाद अधिकारीलाई जोडेर म नै सो व्यक्ति रहेको भान हुने गरी समाजमा भ्रम सृजना भएको देखिन्छ। म सम्पूर्ण राजनैतिक दल र नेतृत्वको सम्मान गर्दछु । साथै, त्यस दललगायत कुनै पनि राजनैतिक दलको सदस्य नरहेको व्यहोरा समेत अनुरोध गर्दछु । यसरी राजनैतिक पार्टीमा आवद्ध नरहेको तथा गभर्नर जस्तो जिम्मेवार पदमा रहेको व्यक्ति कुनै पार्टी विशेषको कुनै समितिमा रहने,बस्ने भन्ने कल्पना बाहिरको विषय हुँदाहुँदै यस प्रकारको भ्रम उक्त समिति गठनले सृजना गरेको हुँदा सो विषयमा स्पष्ट पारी मलाई समेत जानकारी उपलब्ध गराई दिनु हुन अनुरोध गर्दछु।’ एमालेले आफ्नो अर्थ तथा योजना विभागमा एम अधिकारी नाम गरेका सदस्य राखेपछि गभर्नर अधिकारी विवादमा मुछिएका छन् ।




