कुमारी बैंकले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकको आईतबार बसेको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित हकप्रद सम्बन्धित निकायबाट स्विकृत भई साधारणसभाले पारी गरेपछि मात्रै निष्काशन गरिनेछ ।
बैंकले राष्ट्र बैंकको निर्देशन बमोजिम चुक्तापुँजी आठ अर्ब पुर्याउनका लागि हकप्रद सेयर निष्काशन गर्न लागेको हो । हाल बैंकको पुँजी दुई अर्ब ६९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी गरेपछि बैंकको पुँजी चार अर्बको हाराहारीमा पुग्नेछ । पुँजी वृद्धिका लागि एनसीसी बैंकसँग मर्जरमा जान लागेको बैंक प्रक्रियाबाट बाहिरिएो थियो । बैंकले गत आर्थिक वर्षमा ७४ करोड रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफाबाट बोनस सेयर दिएर बैंकले पुँजीलाई केही हदसम्म बढाउन सक्छ । तर, पुँजी वृद्धिको समयावधि सकिन नौ महिना मात्रै बाँकी रहँदासम्म पनि दुई अर्ब मात्रै पुँजी भएको बैंकलाई असार मसान्तसम्ममा आठ अर्ब पुँजी पुर्याउन त्यत्ति सहज देखिँदैन ।



