
बैंकिङ खबर/ श्रीलंकामा आर्थिक संकट गहिरिँदै जाँदा नेपाल पनि श्रीलंकाको अवस्थामा जान खोजेको भन्दै टिकाटिप्पणी हुन थालेको छ । यतिबेला श्रीलंका थप गहिरो आर्थिक संकटको भूमरीमा फसेको छ । श्रीलंकाको इतिहासमै यो आर्थिक संकट ७३ वर्षपछिको सबैभन्दा ठूलो हो । आर्थिक संकटकै कारण श्रीलंकामा सर्वसाधारण नागरिकको जनजीवन थप कष्टकर बन्दै गएको छ ।
श्रीलंकाको मुद्रास्फीतिको दर ह्वातै बढेको छ । अघिल्लो महिना ५४ प्रतिशत रहेको श्रीलंकाको मुद्रास्फीतिको दर अहिले ७० प्रतिशत नाघेको छ । विदेशी ऋणभार ५१ अर्ब डलरहाराहारी छ । यसमध्ये २८ अर्ब डलर सन् २०२७ सम्ममा तिर्नैपर्नेछ । डलरको सञ्चिति सकिएर श्रीलंकाले अहिले इन्धन, खाद्यान्न र औषधिसमेत आयात गर्न सकिरहेको छैन । इन्धन ल्याउन नसक्दा सडकमा सवारीसाधन विरलै गुडेको देख्न पाइन्छ । अधिकांश विद्यालय बन्द गरिएका छन् ।
यता नेपालको पनि देशको आर्थिक अवस्था सन्तोषजनक भने छैन । विदेशी मुद्राको सञ्चिति जेठ महिनामा केहि सुधार भएको छ । ०७९ बैशाख मसान्तसम्म ९ अर्ब २८ बरोड अमेरिकी डलर रहेको विदेशी मुद्रा सञ्चिति जेठ मसान्तमा ९ अर्ब ४५ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
विदेशी मुद्राको सञ्चिति बढेसँगै देशको भुक्तानी सन्तुलन (देश भित्रिने र बाहिरिने विदेशी मुद्राको अन्तर) मा पनि सुधार देखिएको छ । बैशाखमा २ खर्ब ८८ अर्ब रुपैयाँले ऋणत्मक रहेको भुक्तानी सन्तुलन जेठमा २ खर्ब ६९ अर्ब रुपैयाँले ऋणात्मक छ । यस्तै चालु आर्थिक वर्षको ११ महिनामा मूल्यवृद्धि बढेर ८.५६ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.५६ प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.१९ प्रतिशत रहेको थियो । जेठमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४३ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.४४ प्रतिशत रहेको छ ।
यसरी नेपालमा मूल्य वृद्धिदर उच्च हुनु र विदेशी मुद्राको सञ्चिति ६ महिनाका लागि मात्रै पुग्ने हुनुले देशका उच्च पदस्थ व्यक्तिहरुले नै नेपाल श्रीलंकाको स्थितिमा पुग्न लागेको बताउँदै आएका छन् ।
श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्छः ओली
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा पनि श्रीलंकाकै जस्तो आर्थिक संकट आउन सक्ने प्रतिक्रिया दिँदै आउनुभएको छ ।
सरकारको गतिविधिलाई हेर्दा नेपालको आर्थिक अवस्था पनि श्रीलंकाकै जस्तो हुने देखिएको अध्यक्ष ओलीको भनाई छ । हालै ललितपुरमा आयोजित सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता र हतियार खरिदमा बजेट विनियोजन जस्ता विषयले मुलुकलाई आर्थिक रुपमा श्रीलंका जस्तै अवस्थामा पु¥याउने अवस्था आउन सक्ने उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले भन्नुभयो ‘बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराइयो। हतियार खरिदमा पनि बजेट विनियोजन गरियो। अर्थमन्त्रीको पृष्ठपोषणमा वा हतियार खरिद प्रकरणमा चलाईने गरिएका कुरा र पृष्ठभागमा गरिएको समर्थनले हामी श्रीलंकासम्म पुग्ने लक्षण देखिन्छ । त्यसभन्दा अगाडि पनि बढ्न सक्छ। बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले गर्न नसक्ने र हतियार खरिदमा यस्तो बदमासी रक्षामन्त्रीले मात्रै गर्न सक्दैन। ’
अध्यक्ष ओली बजेटमा अनधिकृत व्यक्तिलाई प्रवेश गराउने कुरा अर्थमन्त्री एक्लैले गर्न नसक्ने दावी गरे। उनले मुलुकको अर्थतन्त्रलाई संकटमा जान नदिन सर्तक रहनुपर्ने समेत आग्रह गर्नुभएको छ ।
अर्थतन्त्र समस्याग्रस्त उन्मुख: युवराज खतिवडा
यता पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्र समस्याग्रस्त उन्मुख रहेको बताउँदै आउनुभएको छ । एमालेको विद्यार्थी भ्रातृ संगठन अनेरास्ववियुले काठमाडौंमा हालै आयोजना गरेको ‘नेपालको अर्थतन्त्रको अवस्था, अन्तर्राष्ट्रिय प्रभाव र यसको समाधान’ विषयक अन्तरक्रियामा बोल्दै पूर्व अर्थमन्त्री डा. खतिवडाले अर्थतन्त्र समस्याउन्मुख रहेको बताउनुभयो ।
उहाँले श्रीलंका टाट पल्टनुमा विदेशी मुद्राको सञ्चिति घट्नु मूख्य कारण रहेको बताउँदै नेपालमा पनि विदेशी मुद्राको सञ्चिति घट्दो स्थितीमा रहेको बताउनुभयो । जुन, चिन्ताको विषय भएको समेत उहाँको भनाइ छ । ‘अहिले ६/७ महिनाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति छ,’ उहाँले भन्नुभयो, ‘यो केही समय अघि १३ महिनाको आयात धान्ने स्थितीमा थियो ।’ यही गतिमा विदेशी मुद्राको सञ्चिति घट्दै गएमा नेपाल समेत श्रीलंका जस्तै टाट पल्टन सक्ने बताउँदै उहाँले भन्नुभयो, ‘तर, हामी त्यो स्थितीमा पुगि हाल्दैनौं । त्यसका लागि समयमै आवश्यक कदम उठाउनुपर्छ ।’ त्यसका लागि मौद्रीक नीतिले देशको अर्थतन्त्र थप बिग्रन नदिँदा भूमिका खेल्नुपर्ने डा. खतिवडाको भनाइ छ ।
अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ उन्मुख: गभर्नर
यता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोतर्फ उन्मुख रहेको बताउँदै आउनुभएको छ । उहाँले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकोले आयात नघटेमा श्रीलंकाजस्तो स्थिति आउन आउन सक्ने चेतावनी दिँदै आउनुभएको छ ।
गभर्नरले सार्वजनिक रुपमा आतंक फैलाए
नेपाली कांग्रेसले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रश्न उठाएको छ । नेपाल श्रीलंकाको बाटोमा जाँदैछ भनेर सार्वजनिक रुपमा आतंक फैलाएको भन्दै कांग्रेसले अधिकारीमाथि प्रश्न उठाएको हो । बुधबार प्रतिनिधि सभामा विशेष समय लिएर कांग्रेसका तर्फबाट सांसद मीनबहादुर विश्वकर्माले गर्भनर आफैंले मुलुक श्रीलंकातिर जाँदैछ, श्रीलंकातिर जाँदैछ भनेर हिँडेको बताउनुभयो ।
उहाँले प्रश्न गर्नुभएको छ, ‘एउटा देशको अर्थतन्त्र कमजोर हुँदा मित्र राष्ट्रले श्रीलंका हुन्छ, श्रीलंका हुन्छ भन्दा त्यो देशमा मानसम्मान हुन्छ वा हुन्न ? हाम्रो मित्रता कायम हुन्छ वा हुन्न ?’ एउटा देश संकटमा परेको बेला गिज्याउनु उपयुक्त नहुने भन्दै उनले यस्तो बोल्न बन्द गर्नुपर्ने बताउनुभयो । बताउनुभयो ।
गभर्नरले सल्लाहकार भएर सरकारलाई सहयोग गर्नुपर्नेमा सार्वजनिक मञ्चहरुबाट श्रीलंका हुन्छ, अब टाट पल्टिन्छ भनेर आतंक फैलाएको उहाँको आरोप छ । ‘रियल स्टेट कारोबारीहरुलाई निषेध गर्ने, निजी क्षेत्रलाई हतोत्साही गर्ने, सेयर मार्केटमा लगानीहरुलाई हतोत्साहित गर्ने काम भइरहेको छ, यो बन्द गरिनुपर्छ ।
अन्यथा जनताहरुले आवाज उठाउनुपर्ने हुन्छ र सम्बन्धित व्यक्तिलाई कारबाही गर्नुपर्छ’, कांग्रेस सांसद विश्वकर्माले भन्नुभयो, ‘गर्भनर जस्तो जिम्मेवार व्यक्तिलाई यस्तो नबोल्न र नागरिकहलाई आतंकित नगराउन रुलिङ हुनुपर्दछ ।’ भूकम्प गएको बेलामा सडकमा भूकम्प आयो भूकम्प आयो भन्दा नागरिकहरुलाई थुन्ने गरिएको स्मरण गर्दै उहाँले अहिले गभर्नरले जनतालाई आतंकित पार्दा राज्य चुप लागेर बस्न नहुने बताउनुभयो ।
गभर्नरमाथि छानबिन गर्न कांग्रेस माओवादीको माग, एमालेको बचाउ
बुधबारको संसद बैठकमा कांग्रेस र माओवादी केन्द्रका सांसदले अधिकारीको भूमिकामाथि प्रश्न उठाउँदै छानबिन गर्न माग गरेका छन् । मंगलबार एमालेले जारी गरेको अन्तर पार्टी निर्देशनमा अर्थ तथा योजना विभागको दोस्रो नम्बरमा एम अधिकार खोटाङ उल्लेख छ।
उक्त एम अधिकारी नाम गरेका व्यक्ति गभर्नर अधिकारी नै भएको दाबी गर्दै माओवादी केन्द्रकी सांसद रेखा शर्माले उनीमाथि छानबिन गर्न माग गर्नुभयो ।
शर्माले संसदमा भन्नुभयो, गभर्ननर कुनै पनि दलको सदस्य हुन नपाउने व्यवस्था विपरीत गभर्नर अधिकारी एमालेको अर्थ तथा योजना विभागका सदस्य भएका छन्। देशको अर्थतन्त्री संकटतर्फ उन्मुख छ। दलमा आबद्ध भएपछि दलीय अनुशासन लाग्छा, गभर्नर जस्तो व्यक्तिले दलमा रहँदा आफ्नो दलको निर्देशन पालना गर्नुहुन्छ किन सरकारको ?’
शर्माले गभर्नर अधिकारीको संलग्नतामाथि छानबिन गरेर दाषीमाथि कारबाही गर्न माग गर्नुभयो । ‘अर्थतन्त्र गलत बाटोमा गयो भनेर सुनिदैछ। एमालेको अपानीमा रहेका व्यक्ति गभर्नर नै हुन्। अर्थतन्त्री सहाल्नुपर्ने व्यक्ति बिगार्दै हुनुहुन्छ, उहाँमाथि गम्भीरता पूर्वक छानबिन होस्, शर्माले भनिन्।
त्यस्तै माओवादीकै सांसद अञ्जना विशुंखेले पनि अधिकारीमाथि छानबिन गर्न माग गर्नुभयो । कांग्रेस सांसद मीन विश्वकर्माले जिम्मेवार पदमा बसेर गभर्नर अधिकारीले अर्थतन्त्रबारे आतंक फैलाएको आरोप लगाउनुभयो ।
‘मित्र राष्ट श्रीलंकालाई गिज्याउने गरी गभर्नर अधिकारीले अभिव्यक्ति निरन्तर आएको छ। गभर्नरले निरन्तर सरकारलाई असहयोग गर्ने, शेरयर मार्केटलाई धम्क्याउने, रियल स्टेट व्यवसायीलाई आतंकित पारिरहेका छन्, विश्वकर्माले अगाडि भन्नुभयो, ‘उनको त्यस्तो अभिव्यक्तिलाई रोकिनु पर्छ। आतंक होल्ला मच्चाउने होइन, बन्द गर्न रुलिङ होस्।’
सांसद गगन थापाले पनि देशको अर्थतन्त्र सुधारका लागि एमाले अर्थ तथा योजना विभागका सदस्य गभर्नर महाप्रसाद अधिकारी सुध्रनुपर्ने भन्दै व्यंग्य गर्नुभयो ।अधिकारीबारे सत्ता पक्षका सांसदले दिएको अभिव्यक्तिको एमालेले भने बचाउ गरेको छ। एमाले सांसद कृष्णभक्त पोखरेलले आफ्नो भ्रष्टाचार ढाकछोप गर्नका लागि गभर्नरमाथि आरोप लागएको लगाउनुभयो ।
उहाँले भन्नुभयो, अर्थमन्त्रीले आफ्नो करोडौँ भ्रष्टाचारबाट बच्न विषयान्तर गर्न गभर्नरलाई विवादमा तान्ने काम भएको छ। उहाँ आफूले कुनै पनि दलको सदस्य नभएको बताइ सक्नुभएको छ।’




