
बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जा १७.६ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनासम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले ८७ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन् । असार मसान्तमा बैंकहरुबाट जाने सेयर धितो कर्जा १ खर्ब ६ अर्ब २८ करोड ३९ लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार बैंकहरुले प्रवाह हुने कर्जामा १ करोड रुपैयाँभन्दामाथिञको कर्जा र ५० लाखदेखि १ करोडसम्म जाने कर्जाको आकार घटेको छ । तर २५ देखि ५० लाख र २५ लाख रुपैयाँसम्मको कर्जामा भने बढोत्तरी देखिएको छ ।
राष्ट्र बैंकका अनुसार १ करोडभन्दा माथिको सेयर धितोमा जाने कर्जा २८।६ प्रतिशतले घटेको छ । असार मसान्तमा ७३ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा जेठ मसान्तमा आइपुग्दा २८।६ प्रतिशतले घटेर ५२ अर्ब ५१ करोड ९२ लाख रुपैयाँ मात्रै छ ।
यस्तै ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कर्जाका ७ प्रतिशतले घटेको छ । गत असार मसान्तमा १२ अर्ब १ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ मसान्तमा आइपुग्दा ११ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ ।
बैंक तथा वित्तीय संस्थाबाट ठूलो रकमको ऋण सेयर धितोमा जान नसकेको भएपनि साना आकारको ऋण प्रभावमा भने कमी आएको छैन । २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितोकर्जा १४।३ प्रतिशतले बढेर १५ अर्ब २७ करोड रुपैयाँ रहेको छ । असार मसान्तमा १३ अर्ब ३५ करोड ४४ लाख रुपैयाँ रहेको थियो ।
यस्तै २५ लाख रुपैयाँसम्म जाने सेयर धितोकर्जा १६।८ प्रतिशतले बढेर ८ अर्ब ६१ करोड ८३ लाख रुपैयाँ रहेको छ । असार मसान्तमा ७ अर्ब ३७ करोड ७७ लाख रुपैयाँ थियो ।